मंगलबार, ११ वैशाख २०८१

तल्लो चमेलिया जलविद्युत् आयोजना बनाउन पहल, निर्माणाधीन ८ आयोजनाबाट १०६.८ मेगावाट विद्युत् उत्पादन

rss २०७६ साउन २४ गते ११:२२

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ।

यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ। केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ।

सो विद्युत् आयोजनाको केही तलको भागमा तल्लो चमेलिया विद्युत् आयोजनाको निर्माणको पहल प्रदेश सरकारले गरेको हो। सुदूरपश्चिम प्रदेशमा चमेलियासहित दुई वटा जल विद्युत् आयोजनाबाट हाल ३८ दशमलव ५ मेगावट विद्युत् उत्पादन भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इञ्जिनियर लोजाङदेण्डुप शेर्पाले बताए।

प्रदेशमा निर्माणाधीन अवस्थामा रहेका आठ वटा जल विद्युत् आयोजनाबाट १०६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ। बैतडीको सूर्नयागाड, डोटी र कैलालीको सीमा नदी ठूलीगाड, दार्चुलाको नौ गाड तथा दह खोलामा गरी चार वटा जल विद्युत् आयोजनाका लागि गएको आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो।

पूर्वसम्भाव्यता अध्ययनले दह खोलामा दुई मेगावाट, नौ गाडमा छ दशमलव ९७ मेगावाट, र सूर्यनागाड तथा ठूली गाडमा पाँच मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सकिने देखाएको इञ्जिनियर शेर्पाले बताए। सौर्य लगायतका ऊर्जाका लागि डोटी र डडेलधुरा जिल्ला र जल विद्युत् आयोजनाका लागि बझाङ र दार्चुला जिल्ला निकै सम्भावना भएको जिल्लाका रुपमा देखिएको अध्ययनले देखाएको छ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममा तीन मेगावाटभन्दा बढी क्षमताका चार वटा विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी त्यसका आधारमा उपयुक्त आयोजनाको निर्माण शुरु गरिने उल्लेख छ।यसका लागि प्रदेश सरकारले चालू आव रु पाँच करोड विनियोजन गरिएको छ। यस्तै सम्भाव्यता अध्ययनको आधारमा सार्वजनिक निजी साझेदारीमा मझौलास्तरको प्रदेश गौरवको जलविद्युत् आयोजना निर्माण गर्नका लागि चालू आवमा १० करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री