शुक्रबार, १६ चैत २०८०

भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले दमकमा पाँच अर्ब लगानी गर्ने

समयपोष्ट २०७४ भदौ १४ गते ५:४०

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । 
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर करिब रु पाँच अर्ब बराबरको लगानी गर्ने बताए । 
उनले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए ।  “हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भने, – “अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।” 

Advertisement

उनले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिए ।  आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको छ । 

नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री