शुक्रबार, १६ चैत २०८०

उच्च शिक्षा पढ्न बाहिर जाने क्रम घट्यो

RSS २०७६ असार २० गते १५:२५

Advertisement

उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी काठमाडौँ, पोखरालगायका शहरमा अध्ययनका लागि जाने गर्दथे ।

शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार प्रवेशिका उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्यरुपमा काठमाडौँ जाने प्रचलन भए पनि हटेर गएको सापकोटाको भनाइ छ । बाहिरका कलेजहरुले जिल्लामा मान्छे खटाएर विद्यार्थी सङ्कलन गर्ने गरेको सापकोटा बताउनुहुन्छ ।

उहाँका अनुसार विद्यार्थी पठाएबापत रकमसमेत पठाउनेले पाउने गरेको सुन्नमा आउँथ्यो । पछिल्लो समय उच्च मावि आफ्नै निगरानीमा राखेर पढाउनुपर्छ र बाहिर पठाउनु आवश्यक छैन भन्ने अभिभावकले बुझेको सापकोटाको भनाइ छ ।

शिक्षा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार ४६ वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । गत वर्षसम्मको तथ्याङ्कलाई हेर्दा १९ वटा निजी उच्चमावि सञ्चालनमा रहेका छन् । यस वर्ष थपिएकाहरुको तथ्याङ्क आइनसकेको सुवेदीले बताउनुभयो । पढाइमा प्रतिस्पर्धा र राम्रो नतिजा आउन थालेपछि विद्यार्थी बाहिर पढ्न जान छाडेको सुवेदीको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक दयाराम पौडेल यहाँको शिक्षा राम्रो भएसँगै विद्यार्थी बाहिर जान छाडेको र बाहिरबाट विद्यार्थी लिन आउनेहरु घटेको बताउनुहुन्छ । पौडेलले जिल्ला छाडेर योभन्दा राम्रो शिक्षा नपाउने भएकाले बाहिर जाने विद्यार्थी न्यूनमा झरेको जानकारी दिनुभयो ।

सोही क्याम्पसका अर्का प्राध्यापक डा हरिहर पौडेल तीन–चार वर्षयता राम्रो अङ्क ल्याउने विद्यार्थी यहीँ पढ्ने गरेको बताउनुहुन्छ । पहिले प्रथम श्रेणीमा प्रवेशीका उत्तीर्ण हुने धेरैजसो बाहिर जाने भए पनि अहिले जिपिए ४ ल्याउने अधिकांश विद्यार्थी यहीँ पढ्ने गरेको पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष जिल्लाका ११ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन् । राजधानीका ठूला स्कुलको भन्दा आधा कम शुल्कमा घरकै खाना खाएर त्योभन्दा राम्रो शिक्षा यही पाउने भएपछि किन बाहिर पठाउने भन्ने अभिभावकमा छाप पर्न थालेको छ ।

निजी उच्च माविहरुको छाता संस्था हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताल राष्ट्रिय रुपमा चितवनका विद्यार्थीहरुको नतिजा राम्रो आउन थालेपछि अभिभावकहरुले विद्यार्थी बाहिर पठाउन छाडेको बताउनुहुन्छ । उच्च मावि उत्तीर्ण भएपछि एमबिबिएस, कृषि, इञ्जिनीयरिङ लगायतका प्रवेश परीक्षा दिएर मात्र पढ्न पाउने क्याम्पसहरुमा पनि यहीँका विद्यार्थीले नाम निकाल्ने गरेको धितालको भनाइ छ ।

गुणस्तरकै कारण जिल्ला छाडेर बाहिर पढ्न जाने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा कम रहेको धितालले जानकारी दिनुभयो । अरोमा कलेजका प्रिन्सिपल शेरबहादुर क्षेत्री यहाँका उच्च माविहरुले गुणस्तर राम्रो दिएपछि प्राप्त भएको नतिजाका कारण विद्यार्थी बाहिर जान छाडेको बताउनुहुन्छ । पहिलेको भन्दा बाहिर जाने विद्यार्थीको सङ्ख्या ९० प्रतिशत कम भएको उहाँको भनाइ छ ।

गुणस्तरका लागि चितवन छाड्नु नपर्ने क्षेत्रीको दाबी छ । उहाँका अनुसार यहाँका बाहिर जानेभन्दा बाहिरी जिल्लाबाट यहाँ आउने क्रम बढ्दो रहेको छ । नवलपरासी, गोर्खा, लमजुङ्, तनहुँ, धादिङ्, बाग्लुङ्, पर्वत, स्याङ्जा, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी लगायतका जिल्लाबाट विद्यार्थी चितवन आउने क्रम बढेको क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्लामा राम्रो शिक्षा पाइन्छ र स्नातकका लागि पनि अवसर छन् भन्ने सन्देश प्रवाह भएसँगै यहाँका विद्यार्थी रोकिएको र बाहिरबाट आउने क्रम बढेको हिसानका केन्द्रीय सदस्य राजेश्वर खनालले जानकारी दिनुभयो । सस्तो, उच्च गुणस्तर र घरमा नै बसेर पढ्न पाउने भएपछि किन बाहिर जाने अधिकांश अभिभावकको धारणा बनेको खनालको भनाइ छ । आर्थिक अवस्था कमजोर हुनेका लागि पनि पढ्ने अवसर यहाँ रहेको नारायणी पब्लिक कलेजका अध्यक्षसमेत रहनुभएका खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री