बिहीबार, १५ चैत २०८०

एक हप्ताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छोड्ने राजपाको चेतावनी 

समयपोष्ट २०७४ असार २४ गते १२:०५

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै कुर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रपनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ।’ 
यद्धपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र संशोधन प्रस्ताव पारित गर्ने र मुद्दmा फिताृ, सहिद घोषणा लगायतका राजनीतिक माँगहरुपनि पूरा गर्ने वचन दिएकोले आफूहरु पर्ख र हेरको रणनीतिमा रहेको स्पष्ट पारे । यादवले थपे,‘हिजो बालुवाटारमा भएको कांग्रेस, नेकपा माओवादी केन्द्र र हामीवीचको छलफलमा उहाँहरुले यस्तो आश्वासन दिनुभएको छ, त्यसैले हामी एक हप्ता पर्खन्छौं, एक हप्ताभित्रपनि भएन भने हामी सदन छोडेर सशक्त आन्दोलनमा जान्छौं, जुन आन्दोलनको कसैलेपनि कल्पना गर्न सक्दैनन्।’
उनले संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै भने,‘जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं।’
उनले अहिले संसदमा दर्ता भएको संविधान संशोधन सहमतिको दस्तावेज भएको उल्लेख गर्दै एमालेले संविधान संशोधन के को लागि ? र यो राष्ट्रघाती भन्ने एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने,‘पहिलो पटक संशोधन गर्दापनि एमालेले खासै रुचाएको थिएन, तर राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो।’
उनले एमालेभित्र मधेशी र जनजाति नभएको समेत आरोप लगाए । उनले भने,‘एमालेभित्र मधेशी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थे नि, खोई बोलेको नि ?’
यादवले हिजो निर्वाचन आयोगमा भएको दल दर्ता निर्वाचन प्रयोजनको लागि नभएको स्पष्ट पारे । उनले भने,‘दल दर्ता विधि र विधानको लागि हो, निर्वाचनको प्रयोजनको लागि होईन।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्र्तवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट पारे । 
मण्डलले भने,‘एमाले संशोधनको बाधक होईन, हामी संविधान संशोधन प्रस्तावको अन्र्तवस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं।’ उनले आफ्नो पार्टी तराई मधेशमै हुर्किएको पार्टी भएकोले मधेशी जनताको माँग पूरा गर्न तयार रहेको बताए ।
यद्धपी उनले संशोधन प्रस्ताव तयार पार्दा आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरिएको गुनासो पोख्दै भने,‘प्रस्ताव ल्याउँदा कुनै छलफल नगर्ने अनि पास गराउन आवश्यक पर्दा भन्ने गरिएको छ, सत्तापक्षको नियतमा नै खोट छ।’ उनले प्रस्ताव एमालेलाई नसोधी ल्याउने अनि पास गराउन आनाकानी गर्ने गरेकोले सत्तापक्षको नियतमाथि प्रश्न उठाए। 
नेता मण्डलले आफ्नो पार्टीलाई हली र गोठालो ठानिए कुनैपनि हालतमा सहमत नहुने तर संविधान संशोधनको अन्र्तवस्तुमा सहमति खोजिए पास गराउन तयार हुने जिकिर गरे । उनले एमालेको विश्वास जिते संशोधन प्रस्ताव पास हुने जनाए । 
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसँग पर्याप्त आधार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रै संशोधन प्रस्ताव पारित गराउने पर्याप्त आधारहरु छन् ।’ उनका अनुसार प्रस्ताव पारित हुने पहिलो आधार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निकासको सूत्र रहेको छ । 
यादवले भने,‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया सुरु भैसकेको छ, महाकाली सन्धि र सशस्त्र विद्येयक त पारित गर्नुभयो, त्यसैले उहाँसँग खुबी छ।’ सकेसम्म एक हप्ताभित्रै नभए तेस्रो चरणको स्थानीय तहको निर्वाचनको नोमिनेशन दिनुभन्दा अघि नै संशोधन प्रस्ताव पारित हुने उनले विश्वास दिलाए । 
त्यस्तै यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सरकारले हतार गरेको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने,‘तेस्रो चरणको निर्वाचनपछि पास गर्दा राष्ट्रघाती नहुने, अनि त्यही प्रस्ताव अघि पास हुँदा कसरी राष्ट्रघाती हुन्छ ?।’
उनले संविधानमा सर्वस्विकार्य हुन नदिने एमालेको राण्नीति चाल चालेको समेत आरोप लगाए । यादवले भने,‘एमालेको चाल भनेको नै संशोधनलाई सबैको स्विकार्य हुन नदिने हो, एउटा पक्षले विरोध गरिरहोस भन्ने उसको चिन्तन छ, तर एमालेको रणनीति फेल हुन्छ।’ संशोधन प्रस्तावको पक्षमा भोट नहाले एमालेलाई ईतिहाँसले कलंकको दाग बोकाउने समेत उनको आरोप थियो । 
उनले प्रधानमन्त्री देउवाले चमत्कार गरेर संशोधन प्रस्ताव पारित गर्ने र बाँकी निर्वाचनपनि समयमै सम्पन्न गर्ने विश्वास दिलाए । उनले भने,‘हेर्दै जानुहोस्, देउवाजीले चमत्कार गर्नुहुन्छ, स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेशको र संसदको निर्वाचन उहाँले समयमै गर्नुहुन्छ।’
उनले एमालेले अहिले गरिरहेको विरोधको राजनीति सरकारमा सहभागी हुने रणनीति मात्रै भएको टिप्पणी समेत गरे । यद्धपी उनले एमाले प्रतिपक्षमै बस्नुपर्ने धारणा राखे । ‘किनकी मुलुकमा बलियो प्रतिपक्षपनि चाहिन्छ,’ उनले थपे । 
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए पनि दुई तिहाईले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । 
शाहीले भने,‘सबैसँग सहमति र छलफल गरेर नै संशोधन प्रस्ताव सदनमा टेबुल भएको छ, सकेसम्म एमालेको सहमतिमा पास गर्ने कोशिस गर्छौं, यदि भएन भने पनि हामी दुई तिहाईले यो प्रस्ताव पारित गराएरै छाड्छौं।’ मुलुकमा विद्यमान रहेका समस्याहरुको समाधान गर्ने दायित्व वर्तमान सरकार र यसको नेतृत्वकर्ताहरुको भएकोले सरकारले अहिले घनिभुत प्रयासहरु गरिरहेको शाहीले जानकारी दिए ।
उनले एमालेकै कारण अहिले राजनीति अनिर्णयको बन्दी बनेको समेत आरोप लगाए । उनले भने,‘एमालेले अतिवादी राष्ट्रवादको कुरा गरिरहेको छ, यसले गर्दा मुलुक समस्याबाट ग्रसित छ।’ त्यस्तै उनले संविधान संशोधनमा मेरो गोरुको बाह«ै टक्का भनेर अडान नलिनपनि राजपालाई आग्रह गरे । उनले भने,‘तपाईहरुले भनेको हुबहु कुराहरु अहिले नै पूरा हुन्छन् भन्ने छैन, त्यसैले तपाईहरुपनि लचक हुनुपर्छ।’
उनले सदनमा विचाराधिन रहेको संशोधन विद्येयकको बारेमा एमालेले यो यो कारणले यो विद्येयको औचित्य छैन भनेर भन्न सक्नुपर्ने होईन भने विरोधको नाममा विरोधमात्रै गर्न नहुने चेतावनी दिए । ‘संशोधन प्रस्ताव चाँडै पारित गर्नेगरि अहिले छलफल सुरु भएको छ, मलाई लाग्छ, छिट्टै संशोधन प्रस्ताव पारित हुन्छ,’ शाही भने,‘सके एमालेकै सहमतिमा हुन्छ, यदि एमाले आएन भनेपनि यो दुई तिहाईले पारित हुन्छ।’
राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेकोले उक्त निर्णय यथावत रहेको स्पष्ट पारे । यद्धपी उनले संविधान जारी गर्दाका प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रवीच संविधान संशोधनमा सहमति खोज्न सुझाए । 
गिरीले सदनमा विचाराधिन रहेको संशोधन प्रस्ताव कर्मकाण्डी र दिर्घकालिन समाधान के को लागि ल्याईएको हो भनेर प्रश्न समेत गरे । उनले भने,‘दिर्घकालिन रुपमा समस्या समाधानको लागि ल्याईएको हो भने तीन दल एक ठाउँमा बसेर छलफल गर्नुपर्छ।’ उनले मधेशवादी दलहरुलाईपनि संविधानमार्फत स्पेश दिनुपर्ने जिकिर गरे । 
उनले संशोधन विद्येयकको पक्षमा भोट हाल्ने भनेर पार्टीले संस्थागत निर्णय लिएपनि प्रस्ताव पारित गराउनेबारे सत्तापक्ष गम्भिर नबनेको आरोप लगाए । गिरीले भने,‘संशोधन प्रस्ताव पारित गराउने यो सरकार सशक्त रुपमा उभिएको छैन, चौथो ठूलो दल हाम्रो पार्टी जसले संशोधन प्रस्ताव पारित गर्नको लागि प्रतिबद्धता जनाएको छ, तर हामीसँग कुनै सरसल्लाह नै छैन।’
त्यस्तै उनले सरकारमा जाने वा नजाने भन्ने विषय कांग्रेस र माओवादी केन्द्रको भूमिका भर पर्नेपनि स्पष्ट पारे । उनले भने,‘हामी खेतालाको रुपमा जाँदैनौं, कोलिसन पार्टनरको रुपमा लिईन्छ र सम्मानजनक हैसियत हुन्छ भने जान सक्छौं।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री