शुक्रबार, १६ चैत २०८०

अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते

समयपोष्ट २०७५ साउन ९ गते १६:०९

भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ ।

Advertisement

सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाईफाएर र अश्रुग्यास प्रहार गरेको बताउनुभयो ।

सो क्रममा आन्दोलनकारीले ना१६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उहाँले बताउनुभयो । झडपका क्रममा तीनजना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएको र केहीलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । दिउँसो १ः३० बजे झडप भएकाले घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको राठौंरले बताउनुभयो ।

दिउँसो १२ बजेबाट तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेका थिए । प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप भएको हो । भरतपुर महानगरले पूर्व–पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ–मुग्लिन सडकमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।

तीनपाङ्ग्रे चालकले ती मुख्य सडकमा पनि चलाउन पाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । प्रहरीले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री