शनिबार, ८ वैशाख २०८१

१४ करोडमा भित्राएको प्रिन्टर मेशिन २ बर्ष पनि टिकेन,यात्रुले ट्याक्सीमा बिल पाउन छाडे

समयपोष्ट २०७५ साउन ९ गते ८:३८

– अच्युत रेग्मी

Advertisement

उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् ।

ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत प्रिन्टर मेसिन जडान कार्य शुरु गरेको थियो । यात्रु चढेपछि ओर्लने बेलासम्मको मिटरमा उठेको पैसा लिनेगरी जडान भएको प्रिन्टर मेसिन बिग्रेपछि यात्रुहरुले बिल पाउन छाडेका हुन् ।

कतिपय ट्याक्सीमा प्रिन्टर मेसिन चलेपनि चालकले यात्रुलाई बिल दिदैनन् । अधिकाशं ट्याक्सीमा प्रिन्टर मेसिन बिग्रेको कारणका समस्या भएको हो ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण ट्याक्सीले यात्रुलाई प्रिन्टर बिल दिन नसकेको बताउनुहुन्छ । “ट्याक्सीमा बिल जडान गर्ने क्रममा कमसल मेसिन पर्नजाँदा प्रिन्टर मेसिन चाँडो बिग्रिएका हुन्,”–उहाँ भन्नुहुन्छ ।

कमसल प्रिन्टर मेसिन भित्र्याउँदा रु १४ करोड विदेशिएको अध्यक्ष गौतमको भनाइ छ । “विलिङ जडान हुनु अगाडिनै हामीले विलिङ प्रक्रिया कमजोर छ, उपत्यकाको धुलो धुवाँमा सहज रुपमा चल्न सक्दैन भनेका थियौँ तर जबरजस्ती लागू गर्न खोजियो अहिले त्यसकारण चल्न सकेन,”–उहाँ भन्नुहुन्छ ।

उपत्यकाको नयाँ बसपार्क, कलङ्की, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल र दरबारमार्गलगायतका क्षेत्रका ट्याक्सीमा बढी ठगी हुने गरेको गुनासो छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी चालकको हेलचक्र्याइँका कारण प्रिन्टर मेसिन नचलेको बताउनुहुन्छ । “हामीले एक वर्षको वारेन्टी दिएर प्रिन्टर मेसिन जडान गरेका छौँ, तर धुलो र कागज अड्किँदा चालकले बेवास्ता गरेका कारण प्रिन्टर मेसिन चाँडो बिग्रिएको हो,” उहाँ भन्नुहुन्छ । ट्याक्सी प्रयोग गर्ने यात्रुलाई बिल लिनसमेत विभागले आग्रह गरेको छ ।

विभागले प्रिन्टर मेसिन जडान नभएका ट्याक्सी भेट्टाएमा १० दिन सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना गर्ने गरेको छ । प्रिन्टर मेसिन जडान गर्ने काम नापतौल विभागको भए पनि लागू गराउने र प्रिन्टर बिल नदिने चालकलाई कारबाही गर्ने जिम्मा यातायात व्यवस्था विभागको भएको उहाँ बताउनुहुन्छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल प्रिन्टर मेसिन नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको बताउनुहुन्छ । “गल्ती गर्ने ट्याक्सी चालकलाई निरन्तर रुपमा अनुगमन गरी कारबाही गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी दर्ता भएका छन् त्यसमध्ये आठ हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त मिटरमा जान नमान्ने, बढी भाडा लिने र ट्याक्सी बिल नदिने दैनिक ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउनुहुन्छ । “दैनिक पाँच सयको हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये ३०÷३५ ट्याक्सी चालक कारबाहीमा पर्छन्,” उहाँले भन्नुभयो ।

महाशाखाले अहिले बढी भाडा लिने तथा मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमन गर्न २० जना ट्राफिक प्रहरी बिना बर्दीमा खटाएको छ । महाशाखाले सडकमा बसेर बढी भाडा लिने चालकलाई रु तीन हजार जरिवाना समेत लिन शुरु गरेको महाशाखाका प्रमुख पन्त बताउनुहुन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री