मंगलबार, ११ वैशाख २०८१

पारिवारिक तथ्यांक संकलन शुरु

समयपोष्ट २०७५ साउन ९ गते ७:११

चितवनको भरतपुर महानगरपालिका–७ मा पारिवारिक तथ्यांक लिन शुरु गरिएको छ ।

Advertisement

हिंसा र बेचबिखनमा परेका महिलाको हकहितमा काम गर्दै आएको संस्था केआइ नेपालले भरतपुर महानगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पारिवारिक तथ्यांक संकलन शुरु गरेको वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाको घरधुरी, जनसंख्या तथा वस्तुस्थितिका बारेमा सही जानकारी नभएकाले यकिन तथ्यांक लिन थालिएको हो । काफ्लेले उक्त वडामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको तर बसाइँसराइ दर्ता नभएकाले यति नै जनसंख्या भन्न सकिने अवस्था नरहेकाले तथ्यांक संकलन थालिएको उल्लेख गर्नुभयो ।

मुख्यगरी वडाको जनसंख्या, घरधुरी, पारिवारिक अवस्था, मानव बेचबिखन तथा लैंगिक हिंसाको अवस्था, भाडामा बस्नेको संख्या, लागूऔषध दुरुपयोग अवस्थालगायतका विषयमा तथ्यांक संकलन हुने केआई नेपाल चितवनका संयोजक केमीका घिमिरेले जानकारी दिनुभयो ।

पारिवारिक तथ्यांक आइसकेपछि राज्यलाई करको दायरामा ल्याउन पनि सहज हुने र विकासका कार्यक्रम सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास रहेको घिमिरेको भनाइ छ ।

दुई महिनामा तथ्यांक संकलन गर्ने योजनाका साथ नौ जना संकलक खटाइएको केआइ नेपाल, चितवनले जनाएको छ । मंगलबारदेखि शुरु भएको कार्यक्रमका लागि करीब रु दुई लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्ता तथ्यांकले नगरको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । महिला अधिकारकर्मी संगीता भट्टराई हरेक स्थानीयतहमा यसैगरी तथ्यांक संकलन गर्नसके कार्यक्रम लैजान सहज हुने बताउनुहुन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री