सोमबार, ३१ जेठ २०७८

फुसको छाना हटाएर टिन लगाइदिने

समयपोष्ट २०७५ साउन ६ गते १०:४३

झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता टिन लगाइदिने भएको छ ।

Advertisement

‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो ।

आर्थिक बर्ष २०७५÷७६ को बजेटमै सो अभियानका लागि रु २५ लाख गाउँपालिकाले छुट्याएको र रु २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो ।

Advertisement

विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको भनाइ थियो ।

उहाँले भन्नुभयो, “विपन्न समुदाय छन् श्रम गरेको आम्दानीले उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै पुग्दैन । घर कमजोर हुँदा हावा हुण्डरी, पानी र सर्पको डर हुन्छ । त्यसबाट बचाउनका लागि गाउँपालिकाबाटै हेविटेड नेपाल र सहारा नेपालको सहयोगमा टिन लगाइदिन लागेका छौँ ।”

दशैँपछिदेखि नै निर्माण कार्य शुरु गर्न हाल सात वटै वडामा फुसको छानाको तथ्याङ्क संकलन भइरहेको अध्यक्ष शाहले बताउनुभयो ।

विसं २०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको जनसंख्या ३४ हजार ६०१ छ । अध्यक्ष साहले करीब एकहजार ५०० परिवारको घरमा अझै फुसकै छाना रहेको हुँदा यस आर्थिक वर्षभित्र ७५० घरमा टिन लगाइदिने र बाँकी २०७६÷७७ मा पूरा गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री