बुधबार, ३२ असार २०८२

आइएसपीले बढायो इन्टरनेट शुल्क, कसको मुल्य कति ?

समयपोष्ट २०७५ असार ३२ गते ७:५४

सरकारी स्वामित्वको नेपाल टेलिकमले एडिएसएल इन्टरनेट महसुल वृद्धि नगर्ने भएको छ । साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले इन्टरनेट महसुल १३ प्रतिशत वृद्धि गर्ने निणर्य गरिसकेका छन् । तर,ल्यान्डलाइन टेलिफोनका ग्राहकलाई एडिएसएल ब्रोडब्यान्ड र एडिएसएल भोल्युमबेस्ड इन्टरनेट सेवा बिक्री गर्दै आएको टेलिकमले भने महसुल वृद्धि नगर्ने जानकारी दिएको हो ।

Advertisement

‘विकलेन्ड प्याक, नाइटक टाइम अनलिमिटेड डाटा प्याक, एक जीबी थ्रीजी÷फोरजी पर डे प्याकमा पनि महसुल बढ्ने छैन’, टेलिकमले भनेको छ ।

‘सरकारको निर्णयअनुसार २०७५ साउन १ गतेदेखि दूरसञ्चार सेवा इन्टरनेट महसुलमा थप १३ प्रतिशत सेवा शुल्क लाग्ने व्यहोरा जानकारी गराउँदछौं’, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) सोमबार एक अपिल जारी गर्दै भनेको छ ।

सरकारको नीतिका कारण साउन १ देखि फोन कल, डाटा र इन्टरनेट शुल्क बढ्दैछ । एनसेलले यसअघि नै साउन १ देखि फोनकल र डाटामा १३ प्रतिशत वृद्धि हुने जनाइको छ ।

साउनदेखि एनसेल, भायनेट, क्लासिक टेक, सुबिसुलगायतका इन्टरनेट सेवा प्रदायकले सेवा शुल्क बढाउने भएका छन् । वर्ल्डलिंकले पनि सेवा शुल्क वृद्धि गर्ने तयारी गरिरहेको छ ।

Advertisement

सुबिसुले साउन १ गतेबाट सेवा शुल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धि गर्ने भएको छ । अहिले इन्टरनेट सेवा शुल्क भ्याटसहित न्यूनतम १३ सय ८ रुपैयाँ छ । साउनबाट १३ प्रतिशत करसहितको रकम १४ सय ७८ रुपैयाँ पर्नेछ ।

ग्राहकले साउन लाग्नुअघि नै ३ वा ६ महिनाको शुल्क अग्रिम भुक्तानी गरे सेवा शुल्कबाट बच्न सक्ने कम्पनीले जनाएका छन् । कम्पनीका अनुसार तीनदेखि ६ महिनाका लागि तिरिसकेको अग्रिम शुल्कपछि भने सरकारले लागू गरेबमोजिम सेवा शुल्क तिर्नु पर्नेछ ।

यसैगरी भायनेटले पनि साउनदेखि सेवा शुल्क वृद्धि गर्ने भएको छ । १८ एमबिपिएसको १४ सय रुपैयाँ शुल्क लिँदै आएको कम्पनीले भ्याट र सेवा शुल्कसहित १७ सय ८८ रुपैयाँ लिने भएको छ ।

क्लासिकटेकले पनि साउनदेखि सेवा शुल्क वृद्धि गर्ने जनाएको छ । सेवा शुल्क वृद्धिका लागि गृहकार्यमा रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमले भने सबै किसिमका सेवामा शुल्क वृद्धि नगर्ने भएको छ । कम्पनीले विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डेटा प्याक, जिएसएम थ्रीजी फोरजी, एडिएसएल, इन्डिया अफरअन्तर्गत डेली प्याकलगायतका सेवामा सेवाशूल्क नजोडिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

अल टाइम भ्वाइस प्याकेज, नाइट टाइम भ्वाइस प्याकेज, एसएमएस प्याकेज, मिस्डकल अलर्टलगायतका सेवामा बजेटमा गरेको व्यवस्थाअनुसार मूल्य समायोजन गरिने उनले जानकारी दिइन् । उनका अनुसार ग्राहकले अल टाइम भ्वाइस प्याकेज, नाइट टाइम भ्वाइस प्याकेज, एसएमएस प्याकेज, मिस्डकल अलर्टमा २५ देखि ५० प्रतिशतसम्म बोनस पाउन सक्नेछन् ।

टेलिकमले साउन १ गतेदेखि ९० दिनका लागि मनसुन प्याकेज ल्याउन लागेको पनि वैद्यले जानकारी दिएकी छन् । उनका अनुसार ९० दिनपछि कम्पनीले सेवा शुल्क यथावत् राख्ने वा नराख्ने विषयमा पुनः छलफल गर्नेछ ।

दूरसञ्चार सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि भ्वाइस कल र डेटामा सरकारले तोकेअनुसार १३ प्रतिशत सेवाशूल्क लागू गर्ने तयारी गरेको छ । कम्पनीले सेवाग्राहीलाई १२ दिनअघिदेखि सेवा शुल्क वृद्धि सम्बन्धी जानकारी सहितको एसएमएस पठाउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री