सप्तरीमा खानेपानीको अभाव
सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ । जिल्लाको उत्तरी, पश्चिी भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो । मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा बर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि खानेपानीको अभाव भएको छ ।
सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका –५ खोजपुरका महेन्द्र ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “यस भेगमा विगत डेढ÷दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिपबोरिङबाट पनि पानी आएको छैन ।”
उहाँले चुरेक्षेत्रबाट खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यसवर्ष पानी सुकेको बताउनुभयो । नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यसवर्ष सुक्खा बालुवा नै देखिएको छ । यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “नदी, चपाकल र डिपबोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरिको अन्य वडामासमेत पानीको अभाव देखिएको छ ।”
खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ । राजगढ गाउँपालिका र सुरुङगा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकाश पालिकामा खानेपानीको अभाव रहको देखिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधादर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन् ।
जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेका छन् । जिल्लाको सुरुङा नगरपालिका-१० थलहा र सिसुवा, राजगढ गाउँपालिका-३ नर्घो, रुपनी गाउँपालिका-१ र २ पिपराही, विष्णुपुर गाउँपालिका-३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका-३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पु¥याइरहको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्रमार्फत खानेपानी वितरण थालेको छ ।
प्रतिक्रिया