बिहीबार, ८ साउन २०८२

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीति गर्दा लोकतान्त्रिक मूल्य मान्यता कमजोर हुन्छ : महासचिव पोखरेल

"केन्द्रीय कमिटीको एकमतले मिसन ०८४ को नेतृत्व केपी शर्मा ओलीले नै गर्नुपर्छ भनेको छ"

समयपोष्ट २०८२ साउन ७ गते १६:५१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण पार्टी बलियो बनाउने भन्दा पनि लोकतन्त्रलाई बलियो बनाउनु रहेको बताएका छन्। पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो धारणा राखेका हुन्।

पोखरेलले पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्ने बताए। “विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ। उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,” मंगलबार सम्पन्न केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै उनले भने, “तर यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यतालाई खण्डित गर्छ।”

उनले एमालेको सदस्यता नवीकरण नहुँदा भण्डारी घरमा बस्नुपर्छ भन्ने पार्टीको अपेक्षा नरहेको प्रष्ट पारे। “उहाँ अभिभावकको रूपमा रहनुभएको छ। समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नु अस्वाभाविक होइन,” पोखरेलले थपे।

पत्रकारहरूको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि महाधिवेशन प्रतिनिधि पार्टी अध्यक्षको उम्मेदवार हुन पाउने बताए। “योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन्। हामीले कसैलाई छेकेका छैनौं,” उनले भने, “तर केन्द्रीय कमिटीको एकमतले मिसन ०८४ को नेतृत्व केपी शर्मा ओलीले नै गर्नुपर्छ भनेको छ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री