कारागारमा चौकीदार नियुक्ति विवाद : कैदीबन्दीले गृहमन्त्रलाई लेखे पत्र
कास्की कारागारका कैदीबन्दीहरूले कारागारको ‘क’ ब्लकमा अजय गुरुङलाई चौकीदार नियुक्त गर्ने निर्णय खारेज गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन्। कैदीबन्दीहरूले अजय गुरुङको कार्यशैली निरङ्कुश, पक्षपातपूर्ण र आर्थिक शोषण गर्ने खालको भएको आरोप लगाएका छन्।
कैदीबन्दीहरूले पत्रमा उल्लेख गरेअनुसार, अजय गुरुङले कैदीबन्दीहरूको हकहित र सुरक्षा सुनिश्चित गर्न नसक्ने बताएका छन्। उनीहरूले चौकीदार छनोट प्रक्रियामा ठूलो मात्रामा आर्थिक चलखेल भएको र प्रजातान्त्रिक मान्यताविपरीत आफ्नो चौकीदार आफैं छनोट गर्ने अधिकार हनन भएको दाबी गरेका छन्।
‘क’ ब्लकका ३६६ कैदीबन्दीमध्ये ३६२ जनाले हस्ताक्षर गरी प्रकाश गुरुङलाई चौकीदार नियुक्त गर्न माग गरेका छन्। मागपत्रमा उनीहरूले आफ्नो माग पूरा नभए अनिश्चितकालीन बहिष्कार र आमरण अनसनसहितका आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै, चौकीदार नियुक्तिमा भएको आर्थिक चलखेलको कानुनी छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ।
गत आइतबार कास्की कारागारमा चौकीदार नियुक्तिको विषयलाई लिएर कैदीबन्दीहरूले नाराबाजी गरेका थिए। कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गरेपछि प्रकाश गुरुङ पक्षधर कैदीबन्दीहरूले विरोध जनाएका हुन्। चौकीदार पदका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रसान्त थापाको नाम सिफारिस गरिएको थियो।
प्रतिक्रिया