अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा ४५ नयाँ शाखा अधिकृत खटाइयो, सुधारका लागि उच्चस्तरीय समिति गठन
अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिनुभयो ।
“लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,” उहाँले भन्नुभयो, “अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरेले आजदेखि हाजिर भइसक्नुभएको छ ।” विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । “विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भन्नुभयो, “दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।” उहाँले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताउनुभयो ।
त्यस्तै सरकारले पूर्वमुख्य सचिव शङ्करदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्नेलगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।
प्रतिक्रिया