नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, वार्षिक ७% ब्याजदर
नेपाल एसबिआई बैंक लिमिटेडले आगामी असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्काशन गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र रु. १,००० अंकित दरका कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गते बन्द हुनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ।
प्रतिक्रिया