बुधबार, १८ असार २०८२

‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा किर्ते भएको माओवादीको आरोप,राज्य व्यवस्था समितिका सभापतिको राजीनामा माग

समयपोष्ट २०८२ असार १७ गते १२:३२


नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा भएको ‘छेडखानी’ लाई संसदमाथिको गम्भीर अपराधको संज्ञा दिँदै यसलाई सामान्य रूपमा लिन नसकिने बताएका छन्। मंगलबार सिंहदरबारमा सभामुखसँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिवको राजीनामा माग गरेका छन्।

Advertisement

सांसद सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा किर्ते भएको आरोप लगाएका छन्। उनले भने, “यदि सभापति रामहरि खतिवडा जानाजानी यो कार्यमा संलग्न हुनुहुन्छ भने यो किर्ते जालसाजी हो, जुन कानुनी हिसाबले गम्भीर अपराध हो। यदि उहाँको संलग्नता छैन भने पनि नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको दस्तावेजमा बाहिरको कुरा कहाँबाट आयो? त्यसैले सभापति र सचिवले राजीनामा दिनुपर्छ।”

सापकोटाले यो घटनालाई संसदको सर्वोच्चतामाथिको अपमानको रूपमा चित्रण गर्दै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले थपे, “जबसम्म सभापति खतिवडाले राजीनामा दिनुहुन्न र छानबिन समिति गठन हुँदैन, तबसम्म समितिका बैठकहरू सञ्चालन हुन सक्दैनन्।”

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेतृत्व गरेको राज्य व्यवस्था तथा सुशासन समितिमाथि यो विवादले गम्भीर प्रश्न उठाएको छ। सापकोटाले यो प्रकरणलाई सुविचारित षड्यन्त्रको रूपमा समेत व्याख्या गरेका छन्। “यो घटना सांसदमाथिको अपमान हो। यसलाई हल्का रूपमा लिन सकिँदैन,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री