रिलायन्स स्पिनिङ मिल्सको आईपीओ असार २७ गतेदेखि
रिलायन्स स्पिनिङ मिल्सले आगामी असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्कास गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात्१ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
कम्पनीकोआईपीओको निष्कासन बन्द आगामी साउन १० गते बैंकिङ समयपछि हुनेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिका शाखा कार्यालयहरु र मेरो शेयरएप मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ्ग मिल्स दोस्रो कम्पनी हो ।
योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो। यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।
संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्ताका दरले आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया