नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच मध्यरातमा भयो यस्तो सहमति


नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ ।

सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

दुई दलबिच भएको वार्तामा सहभागी काङ्ग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ । ती नेताका अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ । यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।

यसैबिच नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् ।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ । राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री