
असारमा घरजग्गा कारोबारबाट हुने आम्दानीमा वृद्धि भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असारमा सरकारले घरजग्गा कारोबारबाट ६ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जेठमा घरजग्गा कारोबारबाट देशभरका मालपोत कार्यालयहरुबाट जम्मा चार अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। वैशाखमा चार अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो। चैतमा सरकारले पाँच अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाएको थियो।
गत माघमा सरकारले घरजग्गाबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा बढेर ६ अर्ब २६ करोड संकलन गरेको थियो। मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरी घटेको राजस्व फागुनमा भने उकालो लागेको थियो। पुन: चैतयता भने घट्दै गएको छ।
असारमा लगनखेल मालपोतले नै सबैभन्दा बढी राजस्व उठाएको विभागले जनाएको छ। लगनखेलले असारमा ७३ करोड ६८ लाख रुपैयाँ राजस्व उठाएको छ। जेठमा लगनखेल मालपोतबाट ३७ करोड २४ लाख रुपैयाँ उठेको थियो।
डिल्लीबजारले ४५ करोड २६ लाख, भक्तपुरले ३९ करोड ६८ लाख, चाबहिलले ३६ करोड ४८ लाख, कलंकीले ३४ करोड ४५ लाख, साँखुले १७ करोड २८ लाख, कास्कीले १५ करोड ३३ लाख, मनमैनुले १४ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।
यस्तै, इनरुवा मालपोतले १२ करोड, पर्साले ११ करोड ९० लाख, मकवानपुरले १० करोड ९३ लाख, जनकपुरले १० करोड ९० लाख र काभ्रेले १० करोड २५ लाख रुपैयाँ राजस्व उठाएका छन्।
असारमा राजश्व वृद्धि भएतापनि घरजग्गा कारोबार भने घटेको छ । काठमाडौं उपत्यकासहित चितवनमा कारोबार बढ्दा राजस्व संकलनमा वृद्धि भएको हो । घरजग्गा कारोबारमा प्रवाह हुने बैंकिङ कर्जामा कडाइ, ब्याजदर वृद्धिसँगै सरकारले भू-उपयोग नियमावलीमार्फत् कित्ताकाट गर्न न्युनतम क्षेत्रफल बढाउने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा देखिएको हो ।










प्रतिक्रिया