बिहीबार, ६ वैशाख २०८१

छिनछिनमा बिग्रिन्छन् ट्राफिक बत्ती

समयपोष्ट २०७९ असार २५ गते २०:०४

Advertisement

यातायातको चाप बढ्दै गएपछि भैरहवा क्षेत्रमा जडान गरिएको ट्राफिक बत्ती प्रायः बिग्रिँदा समस्या परेको छ । जडान गरेको छ महिना नपुग्दै दर्जनौँपटक बिग्रिएपछि ट्राफिक प्रहरीलाई समेत समस्या पारेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थनगर नगरपालिकाको विनियोजित रु ४० लाख रकमबाट जडान गरिएको ट्राफिक बत्तीमा गुणस्तरीयता नहुँदा पटक–पटक समस्या आएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको मुख्य भीडभाड हुने देवकोटाचोक र बुद्धचोकमा राखिएका यी ट्राफिक बत्ती सामान्य हावाहुरी तथा पानी पर्दासमेत बन्द हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल, महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी प्रवेश गर्ने मुख्य मार्गमा राखिएका ट्राफिक बत्ती प्रायः बन्द भइराख्दा यात्रुसमेत अलमलमा पर्ने गरेका छन् । ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउन राखिएका यी ट्राफिक बत्ती जडान गरेको समयदेखि नै बन्द हुन थालेपछि यसको कमजोरी पत्ता लगाउने प्रयास भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्लाको तिलोत्तमा नगर क्षेत्र पर्ने सडकमा जडान गरिएका ट्राफिक बत्तीमा कम समस्या देखिए पनि सिद्धार्थनगरमा जडान गरिएका दुई स्थानका ट्राफिक बत्तीमा बढी समस्या आएको उपरीक्षक थापाले बताउनुभयो । ट्राफिक बत्ती राखिए पनि कहिले बल्ने र कहिले बन्द हुने गर्दा सडक झन् अस्तव्यस्त बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले सामान्य अवस्थामा पनि बुद्धचोक र देवकोटा चोकमा जडान गरिएका ट्राफिक बत्ती बिग्रिने गरेको बताउनुभयो । उहाँले ट्राफिक बत्तीको जडान तथा मर्मत सबै नगरपालिकाबाट हुने भएकाले ट्राफिक प्रहरी व्यवस्थापनको जिम्मामा मात्र रहेको जानकारी दिनुभयो ।

नगरमा सडक ट्राफिक व्यवस्थापन सहज बनाउन र ट्राफिक प्रहरीलाई नयाँ प्रविधिको विकास गराउनका लागि नगरपालिकाले ट्राफिक बत्ती जडान गर्न सुुरु गरेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । जडान गरिएका ट्राफिक बत्ती कन्ट्र«ोल प्यानलको दूरीदेखि टाढा भएका कारण तार हल्लिएर बारम्बार बिग्रिने गरेको नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले जानकारी दिनुभयो । ट्राफिक बत्ती बिग्रिए पनि मर्मतको जिम्मा सप्लायर्सकै भएकाले बिग्रिनासाथ मर्मत हुने गरेको अर्यालले बनाउनुभयो ।

क्युसेरा मल्टिप्रपोज प्रालिले जडान गरेको ट्राफिक बत्तीको मर्मतको जिम्मा पनि उक्त प्रालिलाई छ । पछिल्लो समय बढ्दै गएको सवारी सङ्ख्याका कारण रुपन्देहीका व्यस्त सडकमा ट्राफिक बत्ती जडानको माग उच्च रहे पनि जडान गरेका बत्ती बारम्बार ब्रिग्रिन थाले पनि ट्राफिक प्रहरीलाई चिन्ता पारेको छ ।

सडक व्यवस्थित, चुस्त र सहज भएमा दुर्घटना पनि कमी आउने अपेक्षाका साथ राखिएका यी ट्राफिक बत्तीले कम जनशक्तिका साथ प्रभावकारी नतिजा दिने अपेक्षा गरिए पनि पूरा हुन गाह्रो देखिएको छ । नेपालमा विसं २०२३ मा सुरु भएको ट्राफिक बत्ती जडानको इतिहास लामो भए पनि व्यवस्थित नहुँदा समस्या परेको छ ।

ट्राफिक प्रहरीलाई प्रविधियुक्त, सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापन गराउनका लागि उपत्यकाबाट सुरु भएको यो ट्राफिक बत्ती जडान रुपन्देही र कास्कीमा विस्तार गरिएको छ । अन्य सहरी क्षेत्रमा यसको विस्तारका लागि ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको तर बारम्बार बिग्रिने समस्याका कारण भने ट्राफिक प्रहरीलाई हैरान बनाएको देखिन्छ । यसको दीर्घकालीन सोच र गुणस्तरीय प्रविधिमा ध्यान दिए यस्ता समस्या बिरलै आउने प्राविधिक बताउँछन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री