बुधबार, २ जेठ २०८१

१९ वर्षकी भएँ योनिमा लिङ्ग छिर्दैन अनि दुख्छ ?

समयपोष्ट २०७६ असार १४ गते १३:१५

Advertisement

म हाल १९ वर्षकी भएँ । मेरो विवाह भएको तीन वर्ष पूरा भयो । मेरो पहिलो गर्भ खेर गएको थियो । तत्पश्चात् जति प्रयास गर्दा पनि गर्भ बसेन र अहिले विगत दुई–तीन हप्तादेखि त झन् अर्को समस्या देखा पर्दै आएको छ । जस्तै— योनि चिलाउने, योनिभित्र सुन्निने, गन्हाउने सेतो पानी बग्ने, योनिबाहिर खटिरा देखा पर्ने, यौनसम्पर्क गर्दा लिङ्ग नर्छिर्ने अनि योनि दुख्ने आदि समस्याले गर्दा म र मेरा श्रीमान् एकदमै चिन्तित छौं ।
५६१६१

गर्भ रहन किन गाह्रो भएको होला ?

तपाईं अहिले १९ वर्षको हुनुभएको छ र तपाईंको विवाह १६ वर्षमै भएको देखिन्छ । तपाईं किशोरावस्थामा भएकाले प्रजनन क्षमता भए पनि त्यो परिपक्व भैनसकेको हुनसक्छ । आमा र शिशुको स्वास्थ्यका दृष्टिले २० वर्षपछि मात्र सन्तान जन्माउनु उपयुक्त मानिन्छ । तपाईं शारीरिक रूपमा परिपक्व नभैसक्नुभएकाले पनि तपाईंको गर्भ रहन नसकेको हुन सक्छ । त्यसबाहेक गर्भ नरहनुका अन्य के–कस्ता कारण हुन सक्छन् छोटकरीमा चर्चा गरौं ।

डिम्ब नियमित रूपमा निस्किरहेको छैन भने गर्भ रहन गाह्रो हुन्छ । तपाईंको महिनावारी नियमित भैरहेको छ कि छैन, केही लेख्नुभएको छैन । महिनावारी नहुनु वा नियमित नहुनुले डिम्ब निष्कासनमा समस्या रहेको कुरालाई संकेत गर्छ । तपाईंले आफ्नो तौलका बारेमा पनि लेख्नुभएको छैन । गर्भका लागि उचित तौल आवश्यक हुन्छ । तौल अति नै कम वा बढी हुँदा गर्भधारणमा समस्या हुन सक्छ ।

Advertisement

अर्को प्रमुख समस्या पाठेघरको भित्री परतमा देखा पर्ने खराबी हो । यसलाई चिकित्सकीय भाषामा Endometriosis भनिन्छ । कतिपयमा कुनै लक्षण नदेखिने भए पनि महिनावारी हुँदा वा यौनसम्पर्क गर्दा पीडा हुन्छ त कसैलाई बढी योनि रक्तश्राव हुन्छ भने कसैको तल्लो पेट दुख्छ ।

डिम्बाशयको खराबी जस्तै polycystic ovarian syndrome जस्ता स्थितिमा डिम्ब राम्रोसँग परिपक्व हुन सक्दैन । महिनावारी नियमित नहुने जस्ता कुरा देखिन्छन् । गर्भधारण गर्न नसक्नुको अर्को प्रमुख कारण महिलाको डिम्बवाहिनी नलीमा भएको खराबी हो ।

त्यस्तो हुँदा पुरुषबाट आएको शुक्रकीटसँग महिलाको डिम्ब मिलन हुन सक्दैन र यदि मिलन भैहाले फेरि पाठेघरसम्म आउन नसक्ने स्थिति हुन्छ । विशेष गरेर कतिपय यौनरोग तथा Pelvic inflammatory disease जस्ता परिस्थितिमा यस्तो हुन्छ । त्यसबाहेक कतिपय स्थितिमा यस्तो किन भएको हो भनेर कारण थाहा पाउने स्थिति पनि हुँदैन ।

तपाईलाई के भएको होला ?

छोटो सन्देशमा दिनुभएको सीमित जानकारीका आधारमा तपाईंलाई यही नै भएको होला भन्न सकिने स्थिति छैन, तर पनि तपाईंले दिनुभएको जानकारीका आधारमा तपाईंलाई प्रजनन अङ्गको संक्रमण भएको संकेत मिल्छ । यसमध्ये कतिपय यौनरोग हुन सक्छन् ।

यौनरोग संक्रमित व्यक्तिसँग यौनसम्पर्क गर्दा सर्ने विभिन्न किसिमका संक्रमणलाई हामी बोलीचालीको भाषामा यौनरोग भन्छौं । यौन सम्पर्कको माध्यमबाट सर्ने २० भन्दा बढी संक्रमण छन् । ती संक्रमणबाट नेपालमा हजारौं व्यक्ति संक्रमित हुन्छन् ।

तपार्इंले कुनै चिकित्सकलाई देखाउनु भए–नभएको अनि के–कस्ता उपचार गराउनुभयो भन्ने कुरा स्पष्ट रूपमा लेख्नुभएको छैन । कतिपय यौनरोगको उपचार छ र यो निकै सजिलो पनि छ । यौनरोग आफंै ठीक नहुने मात्र होइन कि घरेलु उपचारले पनि ठीक हुँदैन, त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ । कुनै पनि लक्षण थाहा पाउनासाथ चिकित्सकसँग सल्लाह लिन जानुपर्छ । तपाईं कुनै पनि अस्पताल वा स्वास्थ्य केन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ ।

चिकित्सकको सल्लाहअनुसार औषधी पूरा मात्रा खानु आवश्यक छ । चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ ताकि रोगको ठीक निदान गर्न सजिलो होस् । दुवै जना अर्थात् यौनजोडीले एकसाथ उपचार गराउनु महत्वपूर्ण हुन्छ । तपाईंको श्रीमान्मा कुनै लक्षण देखिएको छ कि छैन भन्न पनि बिर्सनु हुँदैन ।

राम्रोसँग उपचार नभएको स्थितिमा यीमध्ये केही रोग जस्तै Chlamydia वा Gonorrhea जस्ता यौन संक्रमण पाठेघर हुँदै डिम्बवाहिनी नली तथा वरिपरिको भागसम्म फैलन सक्छ र PID (Pelvic Inflammatory Diseases) गराउन सक्छ ।

तपाईंले बुझिहाल्नुभयो होला, यौनरोगहरूले प्राय:जसो प्रजनन प्रणालीसम्बन्धी समस्या उत्पन्न गर्छन् । उपचार नै नगरिएको वा राम्रोसँग निको पार्न नसकिएका यौनरोगले प्रजनन अंगमा हानि पुर्‍याउन सक्छन् । यसो हुँदा पाठेघरबाहिर गर्भाधान हुने, गर्भ तुहिने तथा बाँझोपन हुनेजस्ता अनेकौं समस्या देखा पर्न सक्छन् । यदि बेलैमा उपचार गराइएन भने कुनै–कुनै यौनरोगले कडा तथा स्थायी रूपमा अन्धोपन, मुटुको रोग, क्यान्सर तथा मृत्युसम्म गराउन सक्छ ।

अर्को कुरा, बच्चालाई सरेर समस्या मात्र पर्ने होइन कि बच्चा तअंगभंग भएर जन्मिने वा मृत्यु हुनेसम्म हुन सक्छ ।

समाधानका लागि

तपाईंको श्रीमान् चिन्तित हुनुहुन्छ भनेर लेख्नुभएको छ, जसको अर्थ के हुन्छ भने तपाईं र उहाँबीचमा यो समस्याका बारेमा कुराकानी भैरहेको छ र समाधानका लागि सहयोग पनि मिल्ने स्थिति छ ।

त्यसैले तपाईंहरू दुवै जना गएर स्त्रीरोग विशेषज्ञलाई एकपल्ट राम्रोसँग परीक्षण गराई यौनजन्य कुनै संक्रमण छ–छैन, निदान गर्नु आवश्यक छ । त्यसपछि त्यसैअनुसार उपचार गराउनुपर्ने हुन्छ । डा. राजेन्द्र भद्रा, साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री