आइतबार, ६ जेठ २०८१

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

समयपोष्ट २०७६ जेठ १९ गते १३:०२


महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउछन् ।

Advertisement

विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर जग्गामध्ये सोही नगरपालिका–१ को गाल्टारस्थित सात बिघा १० कठ्ठा जग्गा जबर्जस्ती कब्जा गरेर तामाङटोल बसाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले जानकारी दिन्छन् । त्यसैगरी बर्दिवास–१४ स्थित हटियामा विद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर दुई बिघा १० कठ्ठा जग्गा हडपिएको छ । हटियास्थित विद्यालयको जग्गामा १० पक्की तीनतले घर, १२३ अर्धपक्की भुँइतले घर र ७२ टहरा बनाएर स्थानीयवासी जबर्जस्ती बस्दै आएका उनी बताउछन् ।

बढ्दो शहरीकरणसँगै जग्गाको मूल्य पनि आकाशिँदै गएकाले सार्वजनिक जग्गा पनि अतिक्रमण गर्ने क्रम बढेको हो । विद्यालयले कैयौँपटक जग्गा खाली गरिदिन आग्रह गरे पनि जग्गा हडपेर आफूखुशी संरचना बनाएर बसेकाहरुले नसुनेझै गरेका विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी उल्लेख गर्छन् । विद्यालयको अतिक्रमित जग्गाको मूल्य अहिले रु पाँच अर्बको हाराहारीको रहेको उनको भनाइ छ ।

पछिल्लोपटक विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको कानूनी स्वामित्व रहेका सबै जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा जग्गा खाली नगरिए स्थानीय प्रहरी/प्रशासन र स्थानीय निकायको समन्वयमा जबर्जस्ती बनाइएका संरचना भत्काउने तयारी गरिएको प्रधानाध्यापक तिवारी जानकारी दिए ।

विसं २०१६ मा महोत्तरीका शिक्षाप्रेमी स्व नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयको नाममा दिएर स्थापना गर्नुभएको विद्यालयमा कालान्तरमा अन्य दाता थपिदै जाँदा विद्यालयसँग २० बिघा पाँच कठ्ठा १२ धुर जग्गा पुगेको थियो । अहिले विद्यालयकै जग्गा हडपिँदै जाने तर जग्गाको आयस्था विद्यालयलाई प्राप्त नहुँदा भौतिक साधन र स्रोत जुटाउन सकस परेको विद्यालय प्रशासनले जनाएको छ ।

Advertisement

खासगरी समाजका अतिविपन्न परिवार, गरीब मुसहर जाति र अन्य दलित जातिका छोराछोरी अध्ययन गर्ने विद्यालयमा बालविकास कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले एक हजार २०० छात्रछात्रा रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री