शुक्रबार, १४ वैशाख २०८१

छैन, स्वतन्त्र काउन्सिलिङ

समयपोष्ट २०७४ असार १५ गते ३:५८

माध्यमिक शिक्षा परीक्षा नतिजा सार्वजनिक भएसँगै करिब साढे चार लाख विद्यार्थीकक्षा ११ मा भर्ना हुनका लागि राम्रो विद्यालयको खोजीमा भौंतारिएका छन् । ती विद्यार्र्थीका अभिभावक पनि कस्तो विद्यालयमा के विषय पढाउँदा आफ्ना छोराछोरीको करिअर राम्रो हुन्छ भनेर काउस्निलिङमा जुटिरहेका छन् । तर, उनीहरूलाई काउन्सिलिङ गर्ने राम्रो स्वतन्त्र निकाय नहुँदा उनीहरू रनभुल्लमा छन् । ‘कलेजमा जाउँ सबैले आफ्नै कलेजको मात्र गुनगान गाउँछन्, पत्रपत्रिकामा विज्ञापन हेर्दा सबै राम्राजस्ता लाग्छन,’ सामाखुसीस्थित रेडन कलेजमा आफ्नी बहिनीका लागि फर्म लिन आएकी रूपा ओझा भन्छिन्, ‘करिव १० वटा कलेजमा गएर फर्म ल्याएकी छु,  तर कुन राम्रो हो भन्ने छुट्याउन सकेकी छैन ।’

Advertisement

विश्वमा धेरैजसो देशमा स्वतन्त्र काउस्निलिङ गर्ने निकाय हुन्छ । तर, नेपालमा त्यस्तो निकाय नहुँदा विभिन्न स्वार्थकेन्द्रित काउस्निलिङ निकायको कुरा सुनेर भर्ना हुने र पछि बीचैमा एउटा फ्याकल्टी छोडेर अन्य फ्याकल्टीमा जाने विद्यार्र्थीको संख्या पनि धेरै छ । ‘एलएलसीमा राम्रो नम्बर आएपछि बुटवल न्यु होराइजनमा विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना भएँ तर पछि गाह्रो भएपछि बीचैमा छोडेर ललितपुरको क्यारिबियन कलेजमा म्यानेजमेन्टमा भर्ना भएँ,’ अहिले एमबीए गरिरहेका रोशन घिमिरे भन्छन्, ‘विषय छान्ने कुरा राम्रो नम्बरले मात्र नहुँदोरहेछ, अर्को राम्रो काउस्निलिङ नहुँदा पनि एक वर्ष खेर गयो ।’  

कलेजले गर्ने भड्किला विज्ञापनले पनि अभिभावक र विद्यार्र्थीलाई कलेज छनौटमा समस्या पर्ने गरेको छ । एसईई नतिजा आएको एक साता बितिसक्दा पनि अभिभावकले यही कलेजमा यो विषय पढाउँछु भनेर अन्तिम निर्णय लिन सकेका छैनन् । गएको वर्ष संसद्बाट पारित शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय शिक्षाको अन्तिम तह भनेर परिभाषित गर्नु र ग्रेडिङमा नतिजा आउनुले पनि विद्यार्र्थी अभिभावक थप अन्योलमा परेका छन् । 

इच्छा अनुसार शिक्षा

college 1

कक्षा ११ मा भर्ना हुने विद्यार्थी परिपक्व भैसकेका हुन्छन् । परिवारले भनेको मान्ने र कडा अनुशासनमा रहने भनेको १० कक्षासम्म हो । ११ मा पढ्ने विद्यार्थी उमेरमा १६ देखि १८ वर्षको भैसकेको हुन्छ । यो उमेरमा अरूले भनेको नमान्ने र आफूले भविष्यमा केमा करिअर बनाउने भन्ने सोचिसकेका हुन्छन् । त्यसैले आफ्नो रुचिअनुसारको विषय छान्ने स्वतन्त्रता विद्यार्थीलाई दिनुपर्छ । विद्यार्थीले विषय छान्न कक्षा १० सम्म सबैभन्दा बढी मन पर्ने र धेरै नम्बर आउने विषय कक्षा ११ मा पनि छान्दा राम्रो हुने शिक्षाविद्हरूको भनाइ छ । ‘कक्षा ११ मा पढ्ने विद्यार्थी परिपक्व भैसकेको हुन्छ, उसलाई १० सम्म मास्टरले यसो गर, उसो गर भनेर पढाउँथे भने ११ मा गैसकेपछि तपाईं वा तिमी भनेर सम्बोधन गरिन्छ । यसले गर्दा पनि उनीहरूमा धेरै परिबर्तन आइसकेको हुन्छ, शिक्षाविद् तीर्थ खनिया भन्छन्, ‘त्यसैले ११ कक्षामा पढ्ने विद्यार्थीलाई अभिभावकले सुझाव दिन सक्छन् तर आफ्नो रुचिअनुसारको विषय छनोट गर्न दिने स्वतन्त्रता विद्यार्थीलाई नै दिनुपर्छ ।’ 

कक्षा ११ मा पढ्ने विद्यार्थीले आफ्नो करिअरबारे सोचिसकेको हुने भएकाले अभिभावकको दबाबमा विषय छनौट गर्न नहुने शिक्षाविद् प्रा। डा। मनप्रसाद वाग्ले बताउँछन् । ‘कक्षा ११ मा पढ्ने विद्यार्थीले म कुन विषयमा दक्षता राख्छु, कुन विषयमा मेरो दक्षता छैन, दक्षता भएको विषय लिएर अगाडि बढ्छु र त्यही विषयमा मेरो करिअर बन्छ भन्ने धारणा बनाइसकेको हुन्छ । उनी भन्छन्, ‘त्यसैले विद्यार्थीलाई विषय छनोटमा स्वतन्त्र छोडिदिनुपर्छ, अभिभावकले गर्ने भनेको काउन्सिलिङ मात्र हो ।’ 

‘बिद्यार्थी आफैंले मनदेखि म कुन विषयमा सफल हुन सक्छु, खुसी हुन सक्छु, सिर्जनात्मक योगदान दिन सक्छु भन्ने हिसाबले विषय छान्नुपर्छ,’ रिलायन्स इन्टरनेसनल एकेडेमीका अध्यक्ष रवीन्द्रजंग थापा भन्छन्, ‘ए प्लस आयो भने साइन्स अथवा म्यानेजमेन्ट नै पढ्नुपर्छ भन्ने होइन । भोलिको करिअर कहाँ छ, त्यो कुरामा विद्यार्र्थी, अभिभावक स्पष्ट हुनुपर्छ ।’ विद्यार्र्थी आफ्नो रुचिअनुसारको करिअरमा जानुपर्ने पेन्टागन इन्टरनेसनल कलेजका अध्यक्ष एस्पी सिंह बताउँछन् । ‘आफूभित्रको प्रतिभा विद्यार्र्थी आफैंले पहिचान गरेर आफूले चाहेको विषयमा प्रवेश गर्न सक्छ,’ उनी भन्छन् ।
अधिकांश अभिभावक र विद्यार्र्थीमा कुन विषय पढ्ने, त्यसको फ्युचर स्कोप के छ भन्ने कुरामा कन्फ्युज हुने गरेको साउथ वेस्टर्न स्ेटट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी बताउँछन् । ‘कक्षा दससम्म करिअर काउस्निलिङ क्लासको व्यवस्था छैन । यदि शिक्षा मन्त्रालयले दस कक्षामा पढ्ने विद्यार्र्थी र अभिभावकलाई सँगै राखेर साइन्स पढ्दा त्यसको फाइदा के, स्कोप के, कहाँसम्म जान पाइन्छ । त्यसरी नै अन्य विषयको एजुकेसनको फ्युचर स्कोप के छ भन्ने कुरा बुझाउने करिअर काउन्सिलङका क्लासहरू दिनु आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसरी दिने हो भने सम्पूर्ण विद्यार्र्थी र अभिभावक स्ट्रिम सेलेक्सनमा कतै पनि कन्फ्युज हुँदैनन् । त्यसैले कक्षा १० मै करिअर काउनीसलङ नितान्त आवश्यक छ ।’
कक्षा १० वा १२ पास गरिसकेपछि विद्यार्र्थीको विशेष इच्छा, चाहना, योग्यता कुन क्षेत्रमा छ भनेर एप्टिच्युट टेस्ट लिनुपर्ने शिक्षाविद् डा। मनप्रसाद वाग्ले बताउँछन् । ‘यो टेस्ट लिने व्यस्था संसारभरि छ,’ उनी भन्छन्, ‘तर, नेपालमा व्यापारिक काउस्निलिङ भयो ।’ अब नेपालमा पनि विद्यार्र्थीलाई करिअर र एकेडेमिक काउस्निलिङ गर्ने पद्धति विकास गर्नुपर्ने उनी बताउँछन् ।  

कस्तो कलेज छान्ने

विद्यार्र्थी ठूला बिल्डिङ, आकर्षक विज्ञापन र छात्रवृत्तिको प्रलोभनमा जुन पायो त्यही कलेजमा हचुवाको भरमा भर्ना हुँदा पछि विद्यार्र्थीको भविष्यमाथि नै असर पर्न सक्छ । केही वर्षअघि यसरी नै हाइफाईसहित आएका कतिपय कलेज अहिले बन्द भएका छन् ।  अनुभवी, दक्ष र पूर्णकालीन शिक्षक, विद्यालयको शिक्षण शैली, विज्ञ सञ्चालक, अघिल्ला वर्षहरूको नतिजा, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधारलगायतका कुरा राम्रोसँग हेरेरमात्र विद्यार्र्थीले कलेज छान्नुपर्ने विज्ञहरू बताउँछन् ।

‘अहिले बाहिरी कुरा अथवा अनावश्यक तडकभडक देखाएर कलेजले विद्यार्र्थीलाई प्रलोभनमा पारेको देखिन्छ,’ शिक्षाविद् डा। मनप्रसाद वाग्ले भन्छन्, ‘त्यस्ता कलेजमा विद्यार्र्थीको आकर्षण पनि बढी देखिन्छ । तर, यतिमा मात्र भुल्ने हो र भित्री कुरा नबुझ्ने हो भने विद्यार्थीले भोलिका दिनमा दुःखमात्र पाउँछन् ।  उनीहरूको करिअर राम्रो बन्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री