बुधबार, १२ वैशाख २०८१

लोकतान्त्रिक कमाण्डर ललन चौधरी माओवादी केन्द्र प्रवेश

समयपोष्ट २०७४ जेठ ३१ गते ७:०६

२०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर एवं नेपाली कांग्रेसका नेता ललन चौधरी ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
चौधरी बुधबार पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । चौधरीले लोकतान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष लामो जेल जीवन बिताएका थिए । चौधरी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कांग्रेस महासमिति सदस्य र केन्द्रीय खेलकूद विभागको नेता पनि थिए ।
जनकपुर क्षेत्रमा जिउँदो सहिदको नामले चिनिने चौधरी ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर आफू माओवादी केन्द्रमा प्रवेश गरेको’ बताए । चौधरीले भने, ‘दशकौं लामो राजनीति गरियो । तर, देशको एकता र सबैको हितका लागि सोच्ने र लड्ने पार्टी माओवादी मात्रै लाग्यो । प्रचण्डको राजनीतिक क्षमताबाट म निकै प्रभवित छु, त्यसै भएर माओवादी केन्द्रमा आएँ । अब म निस्वार्थ रुपमा राजनीतिमा निरन्तर लाग्नेछु ।’
चौधरीलाई माओवादीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने’ बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री