शुक्रबार, १६ चैत २०८०

शान्तिको खोजी

समयपोष्ट २०७४ जेठ २२ गते ४:२८

मनोज पौडेल
जेन स्यु हब भर्खर २३ वर्ष पुगेकी छन् । तर, उनमा शान्ति र करुणाप्रति यति लगाव बढेर गएको छ कि उनी बुद्धजयन्ती मनाउन चीनबाट नेपाल आइन् । उच्चशिक्षा हासिल गर्दै गरेकी उनी २ साताको बिदा लिएर यहाँ आएकी छन् । उनले यहाँबाट मनको मैलो पखालेर लिएर जाने शान्तिरूपी सन्देश बाँडेपछि मात्र आत्मसन्तुष्टि मिल्ने बताइन् ।

Advertisement

1

उनीजस्तै २८ वर्षकी जिङइन यन पनि सयौं माइल परबाट बुद्ध जन्मस्थलमै आई पाउ पुजेर जन्मजयन्ती मनाउन पाएकोमा जीवनमै सबैभन्दा बढी राम्रो कर्म गर्न पाएकामा निकै खुसी छिन् । चीनमा अहिले शान्तिप्रति धेरै युवकयुवतीको मोह बढेको छ । 
शान्तिकै मार्ग रोज्ने ह्वात्तै बढेका छन् । त्यसैले धेरैपटक बुद्धजयन्ती मनाए तर जन्मस्थलमै आएर मनाउँदा साँच्चिकै शान्तिको अनुभूति पाएको बताइन् । दुवै उपासक उपासिकाले गच्छेअनुसार भिक्षुभिक्षुणीलाई चिनियाँ मुद्रा दान पनि गरे । 

2

उनीहरू मात्र नभई ६० बढी चिनियाँ युवकयुवती बुद्धजयन्ती मनाउन लुम्बिनी आएका छन् । बुद्ध धर्म अंगीकार गरे पनि बुद्ध जन्मस्थलमा पाइला नटेक्दासम्म धेरैले आत्मशान्ति र शान्तिको अनुभूति गर्न पाउँदैनन् । चिनियाँको जोङ हुवा बौद्ध मोनास्ट्रीका गुरु सु चुङ युङले भने त्यसकारण यहाँ आउन मरिहत्ते गर्छन् । ‘यसपछि उनीहरू शान्तिका लागि धार्मिक रूपले परिपक्व हुन्छन्,’ उनले भने, ‘पञ्चशील व्यवहारमा उतार्न थालेपछि परिवार समाज हुँदै राष्ट्र समृद्ध बन्छ ।’
उनै महापुरुष भगवान् बुद्धको जन्मजयन्ती विशेष पूजाआजा गरी वैशाख २० मा लुम्बिनीमा मनाइयो । लुम्बिनीमा मात्र नभएर चीनभरि नै उक्त दिनमै मनाइएको छ । चिनियाँ क्यालेन्डरअनुसार यस वर्ष २६४१औं बुद्धजयन्ती वैशाख २० मा बुधवार परेको थियो । यसपटक नेपाली क्यालेन्डर भन्दा सात दिनअघि चिनियाँ बुद्धजयन्ती परेको हो । चीनभरि नै उक्त दिन मनाए पनि लुम्बिनीमा मनाउन पाउनु भाग्यको कुरा भएको चिनियाँ उपासक उपासिका भन्छन् । जहाँ जन्मे, त्यहाँ मनाउन पाउनु भनेको बुद्धको सच्चा सेवा गर्नु हो, २९ वर्षीया चिनियाँ उपासिका यिङ लियूले बताइन् । धेरै चिनियाँ बुद्ध जन्मेको देश नेपाललाई नै मान्छन् । अब हामी फर्किएपछि यहाँको तथ्य बताएपछि धेरै चिनियाँ पर्यटक यहाँ आउने उनले बताइन् । यसले नेपालको पर्यटन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने उनले बताइन् । 

3

लुम्बिनीस्थित जोङहुवा बौद्ध मोनास्ट्रीद्वारा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी दक्षिण पीपलको रूखमुनि विषेश रूपमा मण्डप सजाइ पूजाआजा गरियो । सजाइएको बेबी बुद्धको मूर्तिलाई धार्मिक विधिअनुसार नुहाइयो । बुद्ध जन्मनासाथ नुहाइदिएको हुनाले यहाँ पनि नुहाइदिएर कार्यक्रम गरिएको थियो । यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो । मोनास्ट्रीका गुरु सु चुङ युङले विश्व शान्तिको कामना गर्दै नेपाल र नेपालीको उन्नति प्रगति देख्न चाहेको बताए ।

6

उक्त अवसरमा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्षु र थेरावाद बौद्ध धर्मावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए । पछि उक्त मूर्तिलाई मोनास्ट्रीमा प्रतिस्थापन गरियो । ‘चीनबाट बुद्धजयन्ती मनाउन आउनु राम्रो कुरा हो,’ लुम्बिनी विकास कोष सदस्य–सचिव अजितमान तामाङले भने, ‘यसले चीनमा नेपालको राम्रो पर्यटन प्रवद्र्धन गर्छ ।’ यसलाई सरकारी तवरबाट व्यवस्थित गरेर धेरै चिनियाँ पर्यटक ल्याउनुपर्ने उनले बताए । 

5

चीनको खुप्यु, सान्सी, सेन्चेन, हाइनान र सियानलगायतका ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ उपासक उपासिका आएका छन् । उनीहरू नेपालले मनाउने वैशाख २७ को बुद्धजयन्ती पछि मात्र स्वदेश फर्कने बताए । त्यस अवधिसम्म लुम्बिनीलगायत कपिलवस्तु र नवलपरासीका विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थलको अवलोकन गरेका थिए । 

Kapilvastu Photo_1

तस्वीरहरु : मनोज पौडेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री