बिहीबार, १३ वैशाख २०८१

राष्ट्रिय झण्डा बोकेर विश्वयात्रा

समयपोष्ट २०७४ जेठ १८ गते ६:४८

narayan nabaraj bhattaraiनवराज भट्टराई ‘कोऽहम्’,नारायणप्रसाद भट्टराई ‘सोऽहम्’
‘प्रेस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिताको सन्देश लिएर हामी २ वर्षमा नेपालका पचहत्तरै जिल्ला पुग्यौं । पत्रकारिता र पर्यटनलाई मूल विषय बनाएर ‘नेपाल भ्रमणका ७३० दिन’ पुस्तक र ‘नेपाल दर्शन’ सार्वजनिक ग¥यौं । २०६५ कात्तिक २ देखि २०६७ कात्तिक १ गतेसम्म यो कार्य व्यक्तिगत तवरमा भएको थियो । त्यसपछिका दिनमा संस्थागत रूपमै विश्वयात्रालगायत विविध सामाजिक कार्यलाई अझ व्यवस्थित गर्न विश्वदर्शन अभियान, नेपालको स्थापना भयो । सबै उद्देश्यलाई प्रतिनिधित्व गर्नेगरी संस्थाले ‘चिनौँ आफूलाई, बुझौँ आ–आफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ मूल सन्देश बनायो ।
यही सन्देशलाई लिएर हामीले २०७० साउन ७ देखि २०७१ साउन ६ सम्म भारतका तत्कालीन सबै २८ राज्य र ३ केन्द्र शासित प्रदेश, म्यानमार र भुटान देश पुग्यौं । उक्त यात्राबारे पुस्तक ‘देखेको विश्व र नेपाल’ र वृत्तचित्र ‘त्रि–देश दर्शन’ आइसकेको छ । सकारात्मक तथा प्रेरणादायी विचारको सँगालो ‘विश्वदृष्टि’ पनि सार्वजनिक छ । सोही यात्राको सोच तथा यसैमा आधारित संस्मरणका केही अंशलाई यहाँ प्रस्तुत गर्दै छौं ।

Advertisement

यात्राको सोच
हाम्रो देश नेपालमा चौध अञ्चल, पचहत्तर जिल्ला छन् भन्ने जानकारी प्राथमिक तह पढ्दा थाहा भयो । अझ विश्वमा धेरै देश छन् भन्ने जानकारीले मनमा कौतूहलता पैदा भइरह्यो । जति–जति माथिल्लो कक्षा चढ्दै आइयो, त्यतित्यति मानव जातिको स्वतन्त्रता, समानता, सकारात्मकता, धार्मिकता, शान्ति र सहअस्तित्वको विषयमा हामीलाई खुब घोत्लिन मन लाग्थ्यो । जिल्ला एउटै, घर नजिक, नाता नजिक, त्योभन्दा पनि बढी नजिक थियो हाम्रो विचार, हाम्रो दृष्टिकोण । त्यहीबेला देखि सबै जिल्ला र सकेसम्म संसार भ्रमण गर्ने अभिप्सा बन्यो हामी दुईमा ।

प्रवेशिका (एसएलसी) सकेर उच्च शिक्षाका लागि हुइँकियौं, हामी नेपालको राजधानी काठमाडौं । केही वर्षको अन्तरालमा काठमाडौंमा पनि हामी सँगै भयौं, रह्यौं र अट्यौं एकैसाथ । काठमाडौं रहँदा पनि भुलेका थिएनौं हामीले भ्रमणको अभिप्सालाई ।

उच्च शिक्षा अध्ययनका क्रममा एउटा मननीय उद्गार सुन्न पाइयो– संसार बदल्नेहरूले पहिला स्वयं (आफैं) लाई बदल्नुपर्छ । आफू बदलिएमात्र संसार बदल्न सकिन्छ भन्ने यस ओजस्वी र तेजस्वी उद्गारले हाम्रो मन अनि मस्तिष्क अलि–अलि मात्रै हल्लिएन, जरैदेखि ज¥याकजुरुक हल्लियो । फेरि अर्को भनाइले हाम्रो ध्यान खिच्यो– धर्तीमा मान्छे भएर जन्मिसकेपछि मर्नुअघि केही गर्नुपर्छ । साधना, परिश्रम, सीप र समयको यथोचित लगानी गर्ने हो भने दुनियाँमा कुनै पनि काम असम्भव छैन, यस्तो लगानी नगर्ने हो भने दुनियाँमा केही पनि काम सम्भव छैन । सम्भव÷असम्भव ज्ञान÷विज्ञानका यी सन्दर्भहरूले हाम्रो ऊर्जा शरीरमा मज्जाले स्पर्श गर्यो, त्यसपछि जीवनमा केही गर्ने ऊर्जा बढ्यो ।

हामी थोर–बहुत देश÷विदेश बुझ्न थाल्यौं । केही वर्षको अन्तरालमा असाध्यै आकर्षित भयौं– सानैदेखि मन पर्दै आएको पत्रकारिता क्षेत्रमा मनोक्रान्ति साप्ताहिकमार्फत । असाध्यै आकर्षित भएको क्षेत्रमा पनि राम्ररी नियालेर हेर्दा केही चुनौती र केही सम्भावना हुँदारहेछन् । पछि यस्तो विचार आयो, अबको संसार सञ्चारको संसार हो । अद्वितीय क्षमता भएको सञ्चार (पत्रकारिता) क्षेत्रलाई सकारात्मक तवरले उपयोग गर्ने हो भने विश्व मानव जातिको मुहारमा कान्ति (चमक) आउनेछ । सञ्चारको दुरुपयोग भयो भने विश्व मानव जातिले सोच्ने सुन्दर भविष्य भयंकर अप्ठ्यारोमा पर्नेछ । अतः विश्वमा शान्ति, मानवता, विश्वबन्धुत्व र सकारात्मक सोचको अभिवृद्धि गर्न सबै स्वतन्त्रताको मुटु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुनै विकल्प छैन । विश्वभरिका पत्रकारहरूले स्वतन्त्र र निर्भय वातावरणमा कलम चलाउनुपर्छ, चलाउन पाउनुपर्छ । हत्या, हिंसा, गाली, गलौज, झैझगडातर्फ उन्मुख गराउने समाचारभन्दा नागरिकलाई जागरण, प्रेरणा र हौसला भर्ने सकारात्मक पत्रकारिता अबको अपरिहार्य आवश्यकता हो ।

यात्रामा नेपाल चिनाइयो
पर्यटकीय नजरबाट त नेपाल तेस्रो मुलुकमा खुबै चिनिएकोजस्तो लाग्छ । तर छिमेकी देश भारतमै नेपाल राम्ररी चिनाउन सकिएको छैन । यसो गर्न सक्ने हो भने नेपाललाई ठूलो उपलब्धि हुने देखिन्छ ।

भारत प्रवेश गर्दा हामीलाई लागेको थियो– नेपालबारे भारतीयहरूलाई सबै कुरा थाहा नभए पनि नेपाल आउन भिसा लाग्दैन भन्नेचाहिँ थाहा होला । तर, त्यस्तो होइन रहेछ । नेपालसँग सिमाना जोडिएका जुन–जुन राज्य र जिल्ला छन्, त्यहाँका केही नागरिकलाई नेपाल जान प्रवेशाज्ञा चाहिँदैन भन्ने थाहा छ । तर, त्यसबाहेकका राज्य र जिल्लाका अधिकांश जनमा नेपालबारे केही थाहा छैन । 

अरूको के कुरा, गोवाका पत्रकारहरूले नै नेपाल जान भिसा चाहिँदैन भन्ने सुनेकै रहेनछन् । उनीहरूले यसबारे जिज्ञासा राखेपछि हामीले विनाप्रवेशाज्ञा तपाईंहरू मात्र होइन, सबै भारतीय नागरिकले ढुक्कसँग नेपाल घुम्न सक्नुहुन्छ भन्यौं । त्यसलाई त्यहाँका प्रमुख सञ्चारमाध्यमले बाकसे समाचार नै बनाएर छापेका थिए ।
खासगरी दक्षिण भारतीय नागरिक नेपालको पशुपतिनाथ दर्शन गर्न भनेपछि हुरूक्कै हुँदारहेछन् । तर, प्रवेशाज्ञाबारे अनभिज्ञ भएका कारण अन्योलमा छन् । हामीले भेटेकाजतिलाई यथार्थ जानकारी दिएपछि नेपाल भ्रमण गर्न उनीहरू लालायित भएका थिए । वास्तवमा भारतका करोडौं हिन्दुले मात्रै पनि नेपालका ऐतिहासिक र धार्मिकस्थल दर्शन गर्न आउने र व्यापक प्रचार–प्रसार गर्दै नेपाल सरकारले उनीहरूका लागि कुशल व्यवस्थापन गर्ने हो भने हाम्रो देशको धार्मिक पर्यटन क्षेत्रमा ठूलो प्रगति हुने देखिन्छ ।

भारतीयहरूको नेपाल दृष्टि किसिम–किसिमको छ । केहीले नेपाल भनेको भारतकै एउटा प्रान्त हो भनेर बुझेका छन् । छुट्टै राष्ट्र हो भन्ने उनीहरूलाई थाहा नै छैन । नेपाल स्वतन्त्र एवं स्वाभिमानी राष्ट्र हो भन्ने जान्दाजान्दै पनि कोही चाहिँ होच्याएरै बोल्छन् । जो–जो भारतीयलाई नेपाली भनेका दुःखी, गरिब, घरघरको चौकीदार वा यस्तै उस्तै काम गर्नेमात्रै हुन् भन्ने छाप परेको थियो । त्यस्तो छाप परेकाहरूलाई हामीले थालेको विश्वयात्रामार्फत नेपालका विभिन्न पाटाबारे जानकारी गरायौं । तत्पश्चात् उनीहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको पाइयो ।

उदाहरणका रूपमा विभिन्न राज्यका भारतीय पत्रकारहरूले स्वागत तथा अभिनन्दन गर्दै हाम्रो डायरीमा लेखेका छन्– देशवासी भएर पनि हामी आफ्नै देशको भ्रमण गर्न सकेका छैनौं । विदेशबाट आएर पनि तपाईंहरू सम्पूर्ण भारत घुम्नुभयो । तपाईंहरूको यो महान् साहसिक कार्य हाम्रा लागि ज्यादै नै प्रेरणादायी रहेको छ । सलाम अनि अभिनन्दन तपाईंहरूलाई ।

हाम्रो डायरीमा उनीहरूले लेखेका मात्र छैनन्, आफ्ना सञ्चारमाध्यममा अत्यन्त प्राथमिकतासाथ समाचार सम्प्रेषणसमेत गरेका छन् । जसका कारण त्यहाँका जनताले हामीलाई सम्मानित व्यवहार पनि गरे ।
नेपालबाहिर पनि नेपाल


nepali in india

पूर्वीय दर्शन, सभ्यता र संस्कृतिको केन्द्रबिन्दु हो– ऐतिहासिक भारतवर्ष । जसको विशाल खण्ड वर्तमान राजनीतिक भारत देशभित्र छ । यसको शिरदेखि तीरसम्म घुमेपछि एउटा अनुभव के भयो भने सानोतिनो विश्वकै झलक हो भारत ।

नेपालबाहिर पनि धेरै नेपाल छन् । भारतभित्रै पनि एउटा विशाल नेपाल रहेछ । किनकि यहाँ नेपालीपन र नेपालीमन छ । कस्मिरदेखि कन्याकुमारी, कन्याकुमारीदेखि पटना अनि पटनादेखि इटानगरसम्मै फैलिएको छ– नेपाली भाषा, संस्कृति, कला र साहित्य । नेपालीभाषी भारतीय नागरिक र प्रवासी नेपाली सबै राज्यमा भेटिएकाले पनि हामीले यसो भन्न सकेका हौं । त्यसो त भारतमा मात्र होइन, यसको चौघेरो काटेर भुटान र म्यानमारमा समेत नेपालीपन देख्न पाएका थियौं ।

भारतीय भूमिमा रोजगारी तथा व्यवसाय गर्नका लागि गएका नेपाली र सुगौली सन्धिपछि भू–भागसहित भारतमा गाभिएका नेपाली (भारतीय नेपाली) को भौतिक शरीरमात्र छैन त्यहाँ, नेपाली भाषा, संस्कृति, साहित्य र रहनसहन पनि सँगसँगै छ । यो अनुभव हामी किन पनि बाँडदै छौं भने भारतका सबै राज्यमा पुग्दा अधिकांश ठाउँमा नेपालीमै बोल्ने नेपालीसँग भेट्ने अवसर पायौं ।

 पूर्वोत्तर र आसपासका भारतीय नेपालीले त अझ राम्रोसँग नेपालीपन जोगाएका छन् । आफ्नो पहिचान र अस्तित्व बचाउनका लागि उनीहरू झनै लाग्न परेको अवस्था छ । आफ्नै भाषा, संस्कृति र साहित्य अपनाउन पाउँदा उनीहरूलाई धेरै गौरव लाग्दोरहेछ । आफ्नै शैली र स्वभावमा बाँच्ने उनीहरूको दृढ आकांक्षा छ । अझ महत्वपूर्ण कुरा त के भने भारतको संविधानले नै नेपाली भाषालाई संवैधानिक मान्यता दिएको छ । जसका लागि भारतीय नेपालीले अत्यन्तै ठूलो दुःख, परिश्रम र योगदान गरेका छन् । त्यसैले भन्न सकिन्छ– लाक्षणिक अर्थमा नेपालमा मात्र होइन, नेपाल बाहिर पनि धेरै नेपाल छन् ।
सुन्दरतामा नेपालै राम्रो वास्तविक सुन्दरता त्यो रहेछ, जसलाई कुनै किसिमका कृत्रिम प्रसाधन घस्न आवश्यकै छैन । त्यही प्राकृतिक सुन्दरताको धनी देश नेपालका हामी नेपाली भन्न पाउँदा साह्रै गर्व लाग्दोरहेछ ।

 भारतका हिमाली राज्यको प्राकृतिक सुन्दरता एकैनाशको छैन । तैपनि ती ठाउँ रमाइलै लाग्छन् । तराईका फाँटमा अवस्थित राज्यहरू त कृत्रिम वनावटले नै चम्काइएका छन् । प्रकृतिप्रदत्त सुन्दरताको अनुभूति त्यहाँ त्यति गर्न पाइँदैन । तर, भौतिक विकासचाहिँ लोभलाग्दो छ ।

भारतले जहाँ–जहाँ भव्य विकास गरेको छ, त्यहाँ–त्यहाँ औद्योगिकीकरण र सहरीकरण अत्यधिक बढेको छ । केही राज्यबाहेक भारतका अधिकांश राज्यमा फेरि–फेरि भ्रमण गर्न जान पाए नि हुन्थ्यो भन्ने हामीलाई लागेन । तीव्र जनसंख्या, गरिबी, बेरोजगारी, उद्योगधन्दा, कलकारखाना आदिबाट निस्कने धूँवा धूलो, जथाभावी दिसापिसाब गर्ने बानी आदिको प्रदूषणले पनि हुन सक्छ, त्यहाँ हामीलाई त्यति मज्जा नलाग्नुमा । तर, नेपालमा चाहिँ घुमिरहौं भन्ने अनुभूति सदावहार बनेर आइरहेको हुन्छ ।

भारत भ्रमणकै क्रममा हामीले दुवै देश चहारिसकेका तेस्रो मुलुकका पर्यटकलाई पनि सोधेका थियौं– भ्रमण गर्नलाई नेपाल र भारतमध्ये कुन देश रमाइलो ? उनीहरूले भने, ‘भारत ठूलो देश भए पनि यहाँ हिमाल, पहाड र तराईको भू–भागमा सुसज्जित नेपालमा जस्तो आनन्द मिल्दैन । हामीलाई आनन्दित बनाउन सक्ने स्वर्गिक ठाउँ त नेपाल नै हो । त्यहाँका परिश्रमी, बिन्दास र मिजासिला नेपाली, उनीहरूको मृदु मुस्कान, नेपाली कलाकौशल, संस्कृति, परम्परा र आधुनिकता सबैको सम्मिश्रणमा नेपाल विचित्रै रमाइलो । मौका मिले फेरि पनि हामीलाई नेपालै घुम्न मन छ ।’

उनीहरूले जे महसुस गरे, हामीले पनि भारतमा त्यस्तै महसुस गर्यौं। नेपालका प्रत्येक डाँडाकाँडा, भीरपाखा, पहरा, छहरा, मन्दिर, पाटीपौवा सबैतिरको कणकणमा पर्यटन लुकिरहेको छ । नेपालको नसानसामै पर्यटन बगिरहेको छ । यसलाई देख्न, चिन्न सक्ने र व्यवस्थापन गर्न जान्ने हो भने पर्यटन, कृषि र जलविद्युत्को माध्यमबाट हामी नेपाललाई विश्वमै नमुना राष्ट्र बनाउन सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री