
अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको छ।
खेलको पहिलो हाफमै हैटीविरुद्ध ३-० को बलियो अग्रता बनाएर उसले आफ्नो दबाब कायम राख्यो।
खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको ब्राजिलका लागि फिलिपे कोउटिन्होले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले खेलको १४ औँ र २९ औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।

प्रतिस्पर्धामा पूर्ण रूपमा हाबी भएको ब्राजिलका लागि तेस्रो गोल रेनाटो अगस्टोले गरे। उनले खेलको ३५ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई थप मजबुत बनाएका थिए।

पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको ब्राजिलले यस खेलमा भने गोलको वर्षा नै गर्यो। पहिलो हाफको खेल सकिँदासम्म हैटीले ब्राजिलको बलियो रक्षापंक्ति तोड्न कुनै अवसर पाउन सकेन।










प्रतिक्रिया