
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार गठन भएको साढे दुई महिनापछि पहिलोपटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मंगलबार दुई नयाँ मन्त्री थप्दै प्रधानमन्त्री शाहले गृह र विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् भने प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय अझै आफैँसँग राखेका छन् ।
गृहमा सुधनको पुनरागमन
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद सुधन गुरुङ पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार भित्रिएका छन् । गत चैत १३ गते प्रधानमन्त्री शाह नियुक्त हुँदा पनि गुरुङले नै गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
तर सत्ता समीकरणको आन्तरिक किचलोका कारण उनले वैशाख ९ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको डेढ महिनापछि उनी पुनः सोही मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका हुन् ।
विज्ञान प्रविधिमा महावीर पुन
यसपटकको मन्त्रिमण्डल विस्तारमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित सांसद महावीर पुनको पनि इन्ट्री भएको छ । प्रधानमन्त्री शाहले पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।
पुनका लागि पनि सरकारमा सहभागी भएको यो दोस्रो अनुभव मात्रै हो । उनी यसअघि जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।










प्रतिक्रिया