सोमबार, ९ असार २०८२

न्यूयोर्कको ज्याक्सन हाइट्समा भव्य रूपमा सम्पन्न भयो नेपाली मेला

समयपोष्ट २०८२ असार ९ गते ८:४७

Advertisement

न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिबार आयोजित नेपाली मेला भव्य रूपमा सम्पन्न भएको छ । हिमालयन स्ट्रीट फेयर तथा हाम्रो मेलाको नामले चिनिएको यो कार्यक्रमका लागि ज्याक्सन हाइट्सको सडक बन्द गरिएको थियो ।

मेलामा नेपाली मौलिक खाना, हस्तकला, र स्थानीय उत्पादनका ३७ वटा स्टलहरू राखिएका थिए, जहाँ सहभागीहरूको ठूलो भिड लागेको थियो । नेपाली सांगीतिक ब्याण्ड र स्थानीय नेपाली मूलका कलाकारहरूको प्रस्तुतिले मेलालाई थप रंगीन बनायो । मेलामा नेपाली समुदायका साथै स्थानीय अमेरिकी नागरिकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

निम्जि, ओम, र दीपेन्द्रको आयोजनामा सम्पन्न यो मेलालाई न्यूयोर्क राज्यका सांसद स्टेभन रागा र क्वीन्स नगर अध्यक्ष डोनोभान रिचार्ड्स जुनियरले सह–प्रायोजन गरेका थिए । नेपाल सरकार, पर्यटन प्रवर्द्धन बोर्ड, न्यूयोर्कको सहकार्यका साथै एनवाई नेपाली कम्पोस्ट र च्याम्पियन मार्सल आर्ट्स क्लबको सहयोगमा मेला सफल भएको हो ।

Advertisement

आयोजक दीपेन्द्र लामाका अनुसार, मेलाको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन, नेपाली उत्पादनको बजार विस्तार, र स्थानीय नेपाली व्यवसायको प्रचार–प्रसार गर्नु थियो । “यो मेलाले नेपाली व्यवसायी र नेपालका मौलिक उत्पादनको बजारलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ,” लामाले बताए ।

न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको दाबी गरे । उनले भने, “मेलामा प्रदर्शन गरिएका नेपाली मौलिक खाना र हस्तकलाले स्थानीय समुदायलाई आकर्षित गरेको छ ।” मेलामा नेपालसम्बन्धी जानकारीमूलक पुस्तकहरू पनि वितरण गरिएको थियो ।

मेलामा स्थानीय सरकारका प्रतिनिधि, राज्य सांसदहरू, र अन्य विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएर अवलोकन गरेका थिए । यो मेलाले नेपाली संस्कृति र व्यवसायलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर प्रदान गरेको आयोजकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री