खाली खुट्टै हिँडेर काठमाडौँ आइपुगेका ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
कर्णालीको सुशासन, विकास, वातावरण संरक्षण र पशु अधिकारका मुद्दा उठाउँदै सुर्खेतबाट खाली खुट्टा यात्रा सुरु गरेका अभियानकर्मी नवराज बोहरा ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बोहराले आफ्नो ३१ दिन लामो यात्राको अनुभव, देखेका समस्याहरू, विशेषतः उपचार नपाएका बालबालिकाको अवस्था तथा पशु संरक्षणसँग जोडिएका विषयहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
गत जेठ ४ गते सुर्खेतबाट सुरुआत गरेका बोहरा असार ३ गते काठमाडौं आइपुगेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न प्रयास गरे पनि व्यस्तताका कारण आइतबार भेटको समय पाएका हुन्।
भेटका क्रममा प्रधानमन्त्री ओलीले बोहराको अभियानको भावना सराहना गर्दै पवित्र भावनासहित अघि बढ्न सुझाव दिए। उनले शरीरलाई धेरै दुःख नदिई स्वास्थ्य र परिवारको पनि ख्याल गर्न आग्रह गरे।
प्रधानमन्त्रीसँगको भेटपछि बोहराले आफूले यात्रा क्रममा उठाएका आवाजहरू प्रधानमन्त्रीसमक्ष राख्न पाउँदा खुसी व्यक्त गरे। उनले पहिलो चरणको अभियान पूरा भएको जनाउँदै अब जुत्ता लगाउने र दाह्री काटेर नयाँ स्वरूपमा अर्को चरणका लागि अघि बढ्ने बताए।
प्रतिक्रिया