बिहीबार, ५ असार २०८२

शिवम् सिमेन्टको ९ महिनामा साढे ५ अर्बको व्यापार, ८.४ प्रतिशतले कारोबार वृद्धि

समयपोष्ट २०८२ असार ५ गते ११:५७


शिवम् सिमेन्टले सन् २०२५ को पहिलो ९ महिनामा करिब साढे ५ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा ५ अर्ब ३९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

Advertisement

यसअघि कम्पनीले सन् २०२४ मा ७ अर्ब ७० करोड ४० लाख, सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख र सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले हाल नेपाली बजारमा ‘शिवम्’ ब्रान्डको ओपीसी सिमेन्ट बिक्री गर्दै आएको छ।

सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्ट सन् २०१५ को जुलाईमा सार्वजनिक कम्पनीका रूपमा रूपान्तरण भएको हो। लक्की ग्रुप, शारदा ग्रुप, गोयल ग्रुपलगायत अन्य लगानीकर्ताहरूको संयुक्त लगानीमा सञ्चालित कम्पनीले नेपालमै क्लिंकर उत्खनन गरी सिमेन्ट उत्पादन गर्दै आएको छ।

कम्पनीको उत्पादन क्षमतातर्फ हेर्दा, शिवम् सिमेन्टसँग वार्षिक ६ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ९ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ। हाल कम्पनीसँग सिमेन्ट उत्पादनका लागि ५ वटा प्लान्ट सञ्चालनमा छन्।

नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनीमध्ये एक मानिने शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङमा यसको ८५ प्रतिशत स्वामित्व छ। त्यस्तै, चिनियाँ होङ्सी ग्रुपसँगको संयुक्त लगानीमा सञ्चालन भइरहेको होङ्सी शिवम् सिमेन्टमा कम्पनीको ३० प्रतिशत स्वामित्व रहेको छ।

Advertisement

शिवम् सिमेन्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड २८ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। चालु आर्थिक वर्षको ९ महिनामा व्यापार रिबाउन्ड भएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री