मंगलबार, ३ असार २०८२

आत्महत्या गर्न हिडेका डाक्टरले उद्धारपछि गृहमन्त्रीलाई भेटे

समयपोष्ट २०८२ असार ३ गते १३:१५

Advertisement

फेसबुकमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर सोमबार बिहान प्रहरीबाट उद्धार गरिएका डा. केशव श्रेष्ठले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। गृह मन्त्रालयमा गृहमन्त्रीसँगको भेटमा उनले आफू राजनीतिक प्रतिशोधको सिकार भएको गुनासो गरेका छन्।

वागमती प्रदेशका १३ वटा सरकारी अस्पतालमध्ये आफू कांग्रेस निकट एक्ला चिकित्सक रहेको बताउँदै श्रेष्ठले माओवादी र एमाले नेताहरूको मिलेमतोमा आफूलाई टार्गेट गरिएको दाबी गरे। उनले पार्टीकै केही नेताबाट समेत दुर्व्यवहार भएको आरोप लगाए।

गृहमन्त्रीसँगको कुराकानीमा उनले भने, “१३ वटा अस्पतालमध्ये म मात्रै डेमोक्रेट डाक्टर हुँ। एमाले मन्त्री, एमाले सचिव छन्, मलाई रोक्न यहीँबाटै प्रमुख सचिव गोविन्द कार्कीलाई फोन गराइएको थियो।”

श्रेष्ठले माओवादीका एक पूर्व सांसदकी छोरी डा. रमा श्रेष्ठमाथि अस्पतालमा शिष्टाचार उल्लङ्घनको विषयमा स्पष्टिकरण मागेपछि आफूलाई बदनाम गर्न खोजिएको दाबी गरे। करारको डेण्टल डाक्टर रमा श्रेष्ठ पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठकी छोरी हुन्।

Advertisement

त्यस्तै उनले कांग्रेसकै केदार कार्की नाम गरेका व्यक्तिले अस्पतालमा करारमा कर्मचारी नियुक्त गर्न दबाब दिएको र आफूले अस्वीकार गर्दा आर्थिक माग र धम्की आएको बताएका छन्। “उहाँले ५० हजार रुपैयाँ माग्नुभयो, नदिएपछि धम्की दिन थाल्नुभयो,” श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री