राप्ती हाइड्रोले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै, यस्तो छ रेटिङ र जोखिम
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १, २०८२ देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ। अर्थात्, १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद निष्काशन हुनेछ।
कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयरका लागि जेठ ५, २०८२ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ ६ मा बुकक्लोज गरेको थियो। लगानीकर्ताले असार २२, २०८२ सम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई हकप्रद निष्काशनका लागि इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस प्रदान गरेको छ। यो रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको नारायणचौर, नक्साल, काठमाडौंस्थित कार्यालय र राप्ती हाइड्रोको त्रिपुरेश्वर, काठमाडौंस्थित कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, मुक्तिनाथ विकास बैंकका शाखाहरू (विर्तामोड–झापा, विराटनगर–मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, र महेन्द्रनगर–कञ्चनपुर) बाट पनि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया