उद्योग समितिमा चर्काचर्की, गृह र श्रममन्त्री समितिमा उपस्थित भइ जवाफ दिनुपर्ने माग
भिजिट भिसा प्रकरणको विषयमा शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूबीच चर्को विवाद भएको छ । बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति सत्तारूढ दलका सांसदहरूले आपत्ति जनाएपछि विवाद भएको हो।
सांसद पराजुलीले भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको र राज्यका निकायहरूको मिलोमतोमा नेपालका नागरिकहरू बेचिनुपरेको आरोप लगाउँदै छानबिन समितिको माग गरे। उनले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने तर सदनमा ह्वीप मान्दै निरीह बन्ने सांसदहरूको आलोचना गरेपछि अन्य सांसदहरू आक्रोशित बने।
पराजुलीको भनाइपछि नेपाली कांग्रेसका सांसद राजु थापाले उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले संसदीय समिति उपयुक्त फोरम नभएको तर्क गरे। साथै पराजुलीले विषयवस्तुबाट बाहिर गएर टिप्पणी गरेको भन्दै सभापति समक्ष रुलिङको माग गरे।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मानव तस्करीको विरोध सबैले गरेको भन्दै “रास्वपाले मात्रै यसको ठेक्का लिएको हो?” भनेर पराजुलीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरे।
विवाद बढेपछि समिति सभापति अब्दुल खानले विषयवस्तुभित्र सीमित भएर धारणा राख्न आग्रह गर्दै पराजुलीको अभिव्यक्तिले विवाद बढाएको बताए। उनले विवादित अभिव्यक्तिमाथि छानबिन गर्न समिति गठन गर्ने प्रस्ताव राखे, जसप्रति पराजुली स्वयंले आपत्ति जनाए।
विवादको क्रममा पराजुलीले मानव तस्करीजस्तो गम्भीर मुद्दामा समितिले छलफल गर्नैपर्ने र गृहमन्त्री तथा श्रममन्त्री समितिमा उपस्थित भई जवाफ दिनुपर्ने माग दोहोर्याए। बैठक विवादकै बीच अन्त्य भयो।
प्रतिक्रिया