एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले घटनामा हालसम्म २०४ जनाको शव निकालिएको जानकारी दिएका छन्। “केही व्यक्तिहरू बाँचेका हुन सक्छन्, तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं,” मलिकले भने। उनका अनुसार ४१ जना घाइतेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने राहत तथा उद्धार कार्य निरन्तर जारी छ।
घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, “हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ। हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।”
विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भन्नुभएको छ ।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।
भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास छ र व्यस्त विमानस्थल घना बस्तीले घेरिएको छ ।
स्थानीय पुनम पटनीले एएफपीसँग भन्नुभयो, “जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए।”
“धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,” उहाँले भन्नुभयो ।
भारतको राष्ट्रिय सुरक्षा निकाय ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।
विमान अहमदाबादको सिभिल अस्पताल र शहरको ‘हर्स क्याम्प’ नजिकैको क्षेत्रमा खसेको थियो ।
प्रतिक्रिया