शनिबार, १ कार्तिक २०८२

आजबाट बृहस्पति अस्त,के गर्न हुन्छ के हुँदैन ?

समयपोष्ट २०८२ जेठ २९ गते ११:४०


आज २०८२ साल जेठ २९ गते (सन् २०२५ जुन १२) बिहीबार बेलुकी ५:०७ बजेबाट वृहस्पति ग्रह पश्चिममा अस्त भएको छ। खगोलशास्त्र अनुसार सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा पुग्दा वृहस्पति ग्रहलाई अस्त मानिन्छ र यस समयमा यसको शुभ फल निष्क्रिय हुने विश्वास गरिन्छ।

Advertisement

ज्योतिषशास्त्र अनुसार वृहस्पति ग्रह ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यहरूको प्रमुख कारक मानिन्छ। यसले मार्गदर्शन, शुभता र विवेकको प्रतिनिधित्व गर्छ। त्यसैले ग्रह अस्तको अवधिमा विवाह, सगाइ, गृहप्रवेश, अन्नप्राशन लगायतका शुभ कार्यहरू नगर्न सल्लाह दिइन्छ।

वृहस्पति ग्रह २०८२ असार २२ गते (सन् २०२५ जुलाई ६) आइतबार बिहान ६:५३ बजे पूर्वमा उदय हुनेछ। तर शास्त्रीय मान्यताअनुसार, शुभ ग्रह अस्त हुनु तीन दिन अगाडिबाट र उदय भइसकेपछि पनि तीन दिनसम्म कुनै शुभ कार्य गर्नु अनुचित मानिन्छ। त्यसैले वृहस्पति ग्रहको वास्तविक प्रभाव असार २५ गतेबाट मात्र पुनः सक्रिय हुने बताइन्छ।

यसबीच, वृहस्पति र शुक्र ग्रह दुवै अस्त हुने अवधि भएकोले विवाहको लागि यो समय उपयुक्त मानिएको छैन। यद्यपि, विगत वर्षहरूमा असारमा विवाहको लगन चल्दै आएको भए पनि यस वर्ष वृहस्पति अस्त भएको र असार २२ पछि विवाहको लगन पनि नजोडिएकाले अब विवाहका लागि मङ्सिर ६ गतेसम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ।

गुरु ग्रह अस्त हुँदा सूर्यको तीव्र प्रकाशमा बृहस्पति ओझेल पर्ने भएकाले पृथ्वीबाट देखिँदैन। यसको प्रभाव पृथ्वीमा पनि परिरहेको छ। वर्षमा एकपटक करिब ३० देखि ४० दिनसम्म यस्तो स्थिति रहने गर्छ।

Advertisement

ज्योतिष शास्त्र अनुसार गुरु अस्तको समयमा विवाह, सगाइ, नामकरण, अन्नप्राशन, गृहप्रवेश, नयाँ व्यवसायको शुभारम्भ, पुखराज रत्न धारण जस्ता कार्यहरू नगर्न सल्लाह दिइन्छ। यस कालखण्डमा शुभ कार्यहरू स्थगित गर्नु उचित मानिन्छ।

तर, यो समयलाई केवल निषेधको काल नभई आत्मविश्लेषण र आध्यात्मिक अभ्यासको अवसरको रूपमा पनि लिन सकिने विज्ञहरूको सुझाव छ। नित्य पूजा, ध्यान, साधना, गुरु मन्त्र जप, गुरुजनको सेवा तथा अधुरा कामहरू पूरा गर्नु लाभदायी हुने विश्वास गरिन्छ। “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप विशेष फलदायी मानिन्छ।

ज्योतिषविद्हरूका अनुसार, “गुरु अस्त केवल बाहिरी गुरु मौन हुने समय हो, यसले आन्तरिक गुरुलाई जागृत गर्ने अवसर दिन्छ। बाहिरी गतिविधिमा विराम लागे पनि ज्ञान र साधनाको मार्ग सधैं खुला हुन्छ।”

गुरु अस्तको यस अवधिलाई रोकटोकको समय नभई जीवनलाई विवेकपूर्वक पुनःसमीक्षा गर्ने र मानसिक रूपले समृद्ध हुने उपयुक्त समयका रूपमा लिइनुपर्ने उनीहरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री