आइतबार, ४ साउन २०८२

नयाँ स्टक एक्सचेञ्जले हरेक सूचकमा ३० देखि ५० प्रतिशत वृद्धि गर्न सक्ने प्रक्षेपण

समयपोष्ट २०८२ जेठ २८ गते १०:१०

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले नेपालमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको सम्भावना र त्यसले बजारमा ल्याउन सक्ने परिवर्तनबारे चर्चा गरेको छ।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित समितिको प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्जले बजारका सूचकहरूमा ३० देखि ५० प्रतिशत वृद्धि गर्न सक्ने प्रक्षेपण गरेको छ। यद्यपि, यो सम्भावनालाई कार्यान्वयन गर्नुअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना अनिवार्य रहेको प्रतिवेदनले जोड दिएको छ।

प्रतिवेदनले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय बजारको अनुभवलाई आधार बनाएर नयाँ स्टक एक्सचेञ्जले साना तथा मझौला उद्योगका लागि छुट्टै प्लेटफर्म, सूचना प्रविधि, र जलविद्युत जस्ता क्षेत्रका कम्पनीलाई सूचीकरणमा आकर्षित गर्न सकिने बताएको छ। आधुनिक प्रणालीहरू जस्तै कारोबारको तत्काल राफसाफ, अक्सन मार्केट, सेक्यूरिटी बोरोइङ्ग एण्ड लेन्डिङ्ग, र इन्ट्रा-डे ट्रेडिङले बजारलाई गतिशील र विश्वसनीय बनाउने विश्लेषण छ। यस्ता सुधारले पुँजीगत लाभकर र आयकरमा उल्लेख्य वृद्धि हुने र गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकिने प्रतिवेदनको ठम्याइ छ।

प्रतिवेदनले बजार सुधारको सम्भावनासँगै सेबोनको आफ्नै कमजोरीलाई पनि उजागर गरेको छ। स्थापनाको ३० वर्ष बितिसक्दा पनि बोर्डको आफ्नै भवन नहुनु, सूचना प्रविधि पूर्वाधारको अभाव, र सामान्य पावर ब्याकअपसमेत नहुँदा लोडसेडिङमा कर्मचारी निष्क्रिय रहनुपर्ने अवस्थालाई दयनीय मानेको छ। यस्ता समस्याले नियामक निकायको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

प्रतिवेदन २०८० माघमा तत्कालीन सरकारले गठन गरेको समितिले २०८१ वैशाखमा बुझाएको थियो। सेबोनले यसलाई कार्यान्वयन गर्न थप अध्ययनका लागि अर्को समिति बनाएको छ। तर, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भने नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन नहुने सुझाव दिएको छ। सरकारले यो सुझाव कार्यान्वयन गर्ने निर्णय गरे पनि नयाँ स्टक एक्सचेञ्जबारे स्पष्ट नीति बनाउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री