चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नाडाद्वारा नेपालको प्रतिनिधित्व, विद्युतीय सवारी र क्षेत्रीय सहकार्यमा जोड
नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीनको चोङछिङ सहरमा आयोजना भएको चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको तर्फबाट सक्रिय सहभागिता जनाउँदै सफल प्रतिनिधित्व गरेको छ।
जुन ६–७, २०२५ मा सम्पन्न उक्त सम्मेलन “परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण” भन्ने मूल विषयमा केन्द्रित रहँदै विश्वव्यापी रूपमा नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे बहस तथा छलफल भएको थियो।
नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरबारे धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाउँदै चीन–आसियान ईभी (इलेक्ट्रिक भेहिकल) सहयोग, दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनका विषयमा केन्द्रित छलफलमा योगदान गर्नुभयो।
सम्मेलनको क्रममा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरूबारे समेत विचार विमर्श गरिएको थियो। नाडाले सम्मेलनमा नेपालको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले स्टल स्थापना गरेको थियो। सो स्टलमार्फत नेपालको बजार सम्भावना, नीतिगत अवस्था र आगामी अगस्टमा काठमाडौँमा आयोजना हुन लागेको नाडा अटो शो २०२५ बारे जानकारी प्रदान गरिएको थियो। यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूबाट उच्च चासो देखिएको नाडाले जनाएको छ।
नाडाको यस किसिमको सहभागिता संस्थाको इतिहासमै पहिलो पटक भएको हो। सम्मेलनमा नाडाको प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी र यमुना श्रेष्ठ, आमन्त्रित सदस्य अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल को उपस्थिति रहेको थियो।
नाडाले यस सहभागितालाई नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजार विस्तारतर्फको महत्वपूर्ण कदम भएको बताएको छ।
प्रतिक्रिया