दोहोरो अंकले बढ्यो नेप्से, जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण
सोमबार नेप्से परिसूचक २३.१९ अंक बढेर २६५३.०९ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि घट्दै आएको नेप्से परिसूचक यो दिन भने उकालो लागेको हो। यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा सोमबार ३२४ स्टकको ७८,८४८ पटकको कारोबारमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँबराबरको १ करोड ७५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्से परिसूचक बढ्दा लगानीकर्ताहरू जलविद्युत र अन्य उपसमूहका कम्पनीहरूमा आकर्षित भएका छन्। १३ उपसमूहमध्ये यी दुई उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी उकालो लागेको छ। जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशतले वृद्धि भएको छ। ८३ जलविद्युत कम्पनीहरू र अन्य उपसमूहका ६ कम्पनीहरूको शेयरमूल्य बढेसँगै यी उपसमूहहरूको परिसूचक उच्च दरले उकालो लागेको हो। लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ। यद्यपि, होटल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
शेयरमूल्य वृद्धिका आधारमा शीर्ष १० कम्पनीहरूको सूचीमा अधिकांश जलविद्युत कम्पनीहरू परेका छन्। मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ७.४७ प्रतिशतले घटेको छ।
कारोबार रकममा राधी विद्युत अगाडि कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ६१ करोड २६ लाख ७१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। युनिभर्सल पावर कम्पनीको करिब ५४ करोड ५० लाख र बुटवल पावर कम्पनीको ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया