रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत, न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने
धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न कम्पनीलाई स्वीकृति दिएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्नेछ ।
बुक बिल्डिङ विधिबाट आउने आईपीओ कम्तीमा ५० कित्ता भर्नुपर्ने व्यवस्था छ । जसले गर्दा यस कम्पनीको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले भर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । सो न्यूनतम रकम बैंक माैज्दात नभएमा भरेको आइपीओ रद्द हुन जानेछ ।
संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्यसीमा प्रतिकित्ता ९१२ रुपैयाँका दरले आईपीओ किनेका छन् । जसले गर्दा सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्ने भएको छ ।
सुनसरी जिल्लामा यस कम्पनीले धागो कारखाना सञ्चालन गर्दछ । सो धागो देशका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्छ । कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको कम्पनीले जनाएको छ । कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ०.९६ रुपैयाँ मात्रै छ, जुन वास्तविकता हो । तर कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा रहने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया