‘उत्पादन क्षमता र बिक्री वितरणको हिसाबले जगदम्बा सिमेन्टले सबैभन्दा बढी बजार ओगट्न सफल भएको छ’
नेपालमा सिमेन्ट उत्पादनको अवस्था कस्तो छ ?
नेपालमा केही वर्षयता विकास निर्माण र समृद्धिका बहसहरुले राम्रो स्थान ओगटेका छन् भने विकास निर्माणका कार्यहरुमा पनि द्रुतता देखिन थालेका छन् । साधारण आवसीय निर्माणदेखि लिएर राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरु निर्माणका क्रममा वा तयारीमा रहेका छन्, जसले गर्दा निर्माण समग्रीहरु जस्तै– सिमेन्ट, छड, इँटा र अन्य निर्माण सामग्रीहरुको मागमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
यसमा पनि सिमेन्ट उद्योगलाई हेर्ने हो भने हाल एक सयभन्दा बढी सिमेन्ट उद्योग दर्ता भएका देखिन्छन् तर करिब ५५ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । यी सञ्चालनमा रहेका उद्योगहरुबाट वार्षिक करिब ६५ लाख टन सिमेन्ट उत्पादन हुँदै आएका छन् । यसलाई आधार मान्ने हो भने हाम्रो कुल मागको लगभग ९०% नेपालमै उत्पादन हुँदै आएका सिमेन्टहरुले पूर्ति हुने देखिन्छ । तर पिक डिमान्डको सिजनमा भने नेपाली सिमेन्ट उद्योगले बजारमा आवश्यक मात्रा सिमेन्ट वितरण गर्न सकिरहेको छैन । यसरी हेर्दा नयाँ सिमेन्ट उद्योगहरुको आवश्यक्तालाई अझ थप औंल्याएको देखिन्छ ।
हाम्रो सिमेन्ट उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुने गन्तव्य धेरै टाढा छैन तर यसको कच्चा पदार्थको लागि भने हामी अझै दोस्रो मुलुकहरु भारत, पाकिस्तान, भुटानसँग निर्भर हुनुपरेको छ । सिमेन्टको प्रमुख कच्चा पदार्थ क्लिङ्कर उत्पादनका लागि चाहिने चुनढुङ्गाको स्रोत हाम्रा पूर्वी तथा पश्चिम पहाडी तथा तल्लो हिमाली भागमा प्रचुर मात्रामा रहेको पुष्टि भएका छन् । करिब १.३ विलियन मेट्रिक टनभन्दा बढी सिमेन्ट उत्पादनका लागि उपयुक्त चुनढुङ्गा हाम्रो तल्लो हिमाली भेगमा रहेको पुष्टि भइसकेको छ । प्रारम्भिक अनुसन्धानले थप २.५ विलियन टनको सम्भावना रहेको देखाउँछ । त्यसैले क्लिङ्कर प्लान्टसहितका सिमेन्ट उद्योगहरुको स्थापना आवश्यक देखिन्छ । एकाध सिमेन्ट उद्योगहरुले मात्रै आफैँ क्लिङ्कर उत्पादन गर्दै आएका छन् । अधिकांश उद्योगहरु आयातीत कच्चा पदार्थमा निर्भर छन् । त्यसैले आजको दिनमा क्लिङ्कर उत्पादनसहितका सिमेन्ट उद्योगलाई प्राथमिकता राख्नुपर्ने आवश्यकता देखिन्छ ।
जगदम्बा सिमेन्टको अवस्था कस्तो छ ?
हाम्रो कुल उत्पादन क्षमता–जगदम्बा सिमेन्ट ई प्रा. लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा. लि. गरी ८० हजार बोरा प्रतिदिन रहेको छ । हामीले वीरगन्जस्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा. लि. मा हालै १५०० मे. टनको उत्पादन क्षमता रहेको भीआरएम प्रविधि जडान गरेपश्चात् उक्त प्लान्टको हालको उत्पादन क्षमता २८०० मे. टन पुगेको छ भने भैरहवास्थित जगदम्बा सिमेन्ट ई. प्रा. लि. को प्रतिदिनको उत्पादन क्षमता १२०० मेट्रिक टन रही आएको छ । यसरी उत्पादन क्षमताको साथै बिक्री वितरणको हिसाबले पनि सबैभन्दा बढी बजार ओगट्ने कम्पनीको रुपमा स्थापित जगदम्बा सिमेन्ट नेपाली सिमेन्ट मार्केटमा कुल बिक्रीको करिब १५% बजार ओगट्न सफल रहेको छ ।
उद्योग वातावरणमैत्री र आधुनिक प्रविधिलाई कसरी आत्मसात् गरेको छ ?
हामीले गुणस्तरीय उत्पादनसँगै वातावरणमैत्री उद्योगलाई प्रथमिकतामा राख्दै आएका छाँै । उद्योगलाई वातावराणमैत्री बनाएकाले आईसीएसद्वारा इन्भारोमेन्ट म्यानेजमेन्ट सिष्टम (ईएमएस) ISO 14001:2004 प्रमाणित गरिएको छ । साथै, नेपाल सरकारको वातावरण विभागद्धारा तोकिए बमोजिम नै सबै मापदण्ड भित्र रही उद्योगहरु संचालन हुदै आइरहेका छन् । यसका लागि सबैखाले मेसिनहरुबाट हुने स्ट्याक इमिसन, वेष्ट वाटर, नोइज तथा सोलिड वेष्ट व्यवस्थापनमा विशेष निगरानी गरिएको छ भने धूलो निणयन्त्रणका लागि आवश्यकताअनुरुप डष्ट कलेक्टरहरुको प्रयोग गरिएको छ र उद्योग परिसरमा वृक्षरोपणलाई पनि प्राथमिकतामा राखिएको छ ।
यसैगरी उत्पादनलाई विश्वस्तरीय प्रविधियुक्त बनाउने उद्देष्यका साथ हाल विकसित मुलुकहरुमा सिमेन्ट उत्पादनका लागि प्रयोग भइरहेको आधुनिक प्रविधिको भीआरएम जडान गरी वीरगन्जस्थित उद्योगमा सञ्चालनमा आइसकेको छ भने सोही प्रविधिसहितको हाम्रो तेस्रो सिमेन्ट उद्योग स्थापनाको क्रममा रहेको छ ।
साथै, प्याकेजिङलाई वातावरणमैत्री बनाउन हाम्रो सम्पूर्ण उत्पादनमा लेमिनेटेड व्यागहरु प्रयोग गरिएको छ भने प्याकिङ प्लान्ट पनि अत्याधुनिक तथा कम धूलो इमिट गर्ने वातावरणमैत्री रोटो प्याकेजिङ मेसिन प्रयोग गरिएको छ ।
उद्योगको उत्पादन क्षमता वृद्धिको कुनै योजना छ कि ?
२०५६ सालमा ३०० मे. टन उत्पादनबाट सुरुवात भएको यस उद्योगको हालको उत्पादन भीआरएम प्रविधि जडान गरेसँगै ४००० मेट्रिक टन भएको छ । यही क्रमलाई निरन्तरता दिँदै हामी तेस्रो सिमेन्ट उद्योगबाट आगामी केही वर्षमा उत्पादन सुचारु गर्ने प्रक्रियामा छौँ । यो उद्योग सञ्चालनमा आएसँगै प्रतिदिनको उत्पादन क्षमता ५५०० मेट्रिक टन हुनेछ ।
नेपाल सिमेन्टमा आत्मनिर्भर हुन सरकार वा निजी क्षेत्रको भूमिका के हुनुपर्दछ ?
उद्योग स्थापनालाई प्रोत्साहित गर्न सरकारले उद्योगमैत्री नीतिहरु अवलम्बन गर्नुपर्दछ । उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने समस्याहरुको उचित समाधानका लागि सबै सरकारी संयन्त्रहरुले समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक हुन्छ । यातायात व्यवस्थापन, ढुवानी तथा कच्चा पदार्थको आयात गर्ने क्रममा देखिने विभिन्न समस्याहरुको समाधान तथा सहजीकरणमा सरकारको अहम् भूमिका रहने गर्दछ । यी कुराहरुमा सरकारी तहबाट उचित पहल हुने हो भने निजी क्षेत्रबाट हालै सञ्चालन हुँदै आएका उद्योगहरुले पनि आफ्नो क्षमताअनुरुप उत्पादन गर्न सक्ने छन् भने सञ्चालन हुने क्रममा रहेका उद्योगहरुबाट पनि छिट्टै उत्पादन सुचारु हुन सक्दछ ।
नेपाली बजारमा सिमेन्टको मागलाई हेर्दा निजी क्षेत्रहरु लगानीमा तत्पर देखिन्छ । तर सिमेन्टमा मात्रै आत्मनिर्भर हुनुभन्दा पनि यसको मुख्य कच्चा पदार्थ, क्लिङ्करको उत्पादनमा पनि आत्मनिर्भर हुन अत्यन्त जरुरी छ । त्यसैले क्लिङ्करसहितका उद्योग स्थापनालाई सरकारले विशेष प्रोत्साहन गर्न आवश्यक छ । साथै, चुनढुङ्गाका खानीहरु सञ्चालनका लागि प्रशासनिक प्रक्रियालाई सहजीकरण गर्नुपर्ने देखिन्छ । जसले गर्दा क्लिङ्कर उत्पादनका उद्योगहरु छिट्टै सञ्चालनमा आउन सक्ने छन् ।
हालसालै सरकारले उद्योगहरुमा पनि लोडसेडिङ पूर्णरुपले हटाइएको घोषणा गरेको छ तर बेलाबेला हुने ट्रिप्लिङ, मर्मत सम्भारमा हुने ढिलाइले उद्योग पूर्णरुपमा लोडसेडिङमुक्त हुन सकेको छैन भने चुनढुङ्गा खानीसम्मको पहँुच मार्ग, बिजुली र स्थानीय अवरोधहरुलाई पनि सरकारले समाधान गर्नुुपर्छ ।
प्रतिक्रिया