शुक्रबार, २ साउन २०८२

पहाडलाई नै सम्याएर त्यहीँ बसोबास गर्ने किन नबनाउने ? : पूर्वाधारविद् डा. सूर्यराज आचार्यको बिष्लेषण

समयपोष्ट २०७५ जेठ २४ गते ६:३९

भौतिक पूर्वाधार निर्माण गर्र्दा कसरी दिगोपन, सस्तो र शुलभ बनाउन सकिन्छ भनेर ध्यान दिनुपर्छ । कुनै संरचना सय रूपैयाँमा पनि बन्न सक्छ, भने कुनै दुई सय रूपैयाँ पनि हुन सक्छ । अहिले हामी सय रूपैयाँमा बन्ने संरचना दुईसय रूपैयाँमा बनाइरहेका छौँ । त्यसमा विविध कारण छन् । जस्तो हामीले मस्र्याङ्दी हाइड्रो पावर बनायौँ । त्यसको डिजाइन जर्मनीका कन्सल्टटिङ अफिसमा बनाइएछ । त्यसको अध्ययन अनुसन्धानका लागि जर्मन इन्जिनियर र विज्ञहरू, प्रोफेसर नै ल्याइएछ । उनीहरू एउटैको मासिक तलब ३०–४० हजार युरो सम्म हुन्छ । त्यो बनाउँदाको सुरुवातदेखि नै त्यस्ता महँगा जनशक्ति हामीले त्यहाँ संलग्न गरायौं । अर्को सबैभन्दा महँगो सिन्धुली रोड जापानले बनायो । तर, सडक विभागकै इन्जिनियरले डिजाइन गरेर नेपाली ठेकेदारले नै बनाएको गोरखाको बारपाक पुग्ने सडक धेरै सस्तोमा बन्दैछ । त्यसैले हाम्रो निर्माण पद्धतिको चुरो कुरो हाम्रा पूर्वाधार हामी आफैँले बनाउदा धेरै सस्तो पर्न जान्छ ।

अर्कोतीर निर्माण व्यवसायीका पनि आ आफ्नै कमजोरी छन् । व्यवस्थापकीय सीप छैन, दशकौँदेखि पारिवारिक पृष्ठभुमिबाट बाहिर जान सकेका छैनन् । जस्तो– हजुरबुबाको कम्पनी थियो, अहिले नातिले चलाइरहेको छ । निर्माण व्यवसायीका यस्ता यावत् समस्या छन् । निर्माण सामग्री व्यवस्थापनबारे अर्को हाम्रो पद्धति नै छैन । त्यहाँ पनि लापरवाही छ । सरकार कै काम गरिरहेका निर्माण व्यवसायीलाई सोध्ने हो गिटी, बालुवा, ढुङ्गा निकाल्ने खानी कहीँ डनले कन्ट्रोल गरेको छ, कहीँ गाउँ पालिकाले दिँदैन, यस्ता अनेक समस्या छन् । कहीँ बालुवा निकाल्न नदिएर नदीको सतह माथि उठ्नाले बाढि आउँदा पुल माथिबाट पानी वग्ने अवस्था छ भने कहीँ बालुवा निकालेर पुल नै भासिएका पनि छन् । निर्माण सामग्रीका नाममा कतै प्राकृतिक स्रोत नदी र चुरेको अनुउपयुक्त दोहन भइरहेको छ भने कतै आयोजनाहरूले सस्तोमा पाइने निर्माण सामग्रीहरू नपाएर आयोजना महँगो र निर्माणमा ढिलासुस्ती भएको छ ।

हाम्रोमा ढुङ्गा, बालुवा भनेका सबैभन्दा सस्तोमा उपलब्ध हुने निर्माण सामग्री हुन् । कतिपय देशहरूमा बालुवा आयात गर्नुपर्छ । बालुवा सिमेन्ट आयात गरे जस्तै बोराका बोरा बिक्री गरिन्छ । तर, हामीकहाँ पहाडहरूमा बालुवाको खानी नै छ भने ढुङ्गाको डिपोजिट प्रशस्त छ । हाम्रा पहाडहरू नै समुद्रको पिँधमाथि उठेर बनेका हुन् । अहिले पनि पहाडको गाउँपालिकातिर फुटबल खेल्ने सम्म ठाउँ छैन । चीनको सहरीकरण हुँदा खेतीयोग्य जमिन नाश भयो भनेर सयौंको संख्यामा पहाड सम्याइएको थियो । हामीले पनि पहाडलाई नै सम्याएर त्यहीँ बसोबास गर्ने किन नबनाउने ? पहाड जहाँ निर्माण सामग्री आउँछ, ठाउँ पनि सम्म हुन्छ, त्यो किसिमको भौतिक विकास किन नसोच्ने ? निर्माण सामग्रीहरू एउटा प्राकृतिक रूपमा उपलब्ध हुने (ढुङ्गा, बालुवा, गिटी) को हाम्रो नीति नै छैन् । त्यसलाई सरकारले व्यवस्थापनको नाममा नियन्त्रण गर्नु अपारदर्शी र तदर्थ छ । त्यसले गर्दा नै त्यहाँ डन, कालोबजारी र अपराधीकरणसमेत भएको हो । त्यो सरकारले नीतिगतरूपमा नै सुधार गर्नुपर्ने छ । त्यसको लागि आवश्यक पर्छ भने कतिपय ठाउँमा पहाडहरू सम्याउने र निर्माण सामग्रीहरू त्यहाँबाट निकाल्ने गर्नुपर्छ । ती कुराहरूमा अब हामी नयाँ सोचबाट जानुपर्छ ।

अर्को, औधोगिक निर्माण सामग्री (सिमेन्ट, छड) का उद्योगहरू थुप्रै खुलेका छन् । तर, एउटा सामान्य घर बनाउनुपर्यो र सिमेन्ट, छड किन्न हार्डवेयर पसलमा जाँदा पसलेले यो इन्डियन हो । यो ब्राण्डेड हो, यसको ग्यारेन्टी हुन्छ भन्छ । त्यसैले नेपाली छड सिमेन्टमा गुणस्तरको ग्यारेन्टी हुन आवश्यक छ । कतिपय संरचनाहरू गुणस्तरमा अत्यन्तै संवेदनशील हुनुपर्ने हुन्छन् । जस्तो– ड्याम बनाउँदा सिमेन्टको क्वालिटी राम्रो भएन भने दश वर्षमै पुनर्निर्माण गर्नुपर्ने हुन्छ । साथै, निकै खतरनाक पनि हुन्छ । हाम्रा फ्याक्ट्रीबाट निस्कने सिमेन्ट छडहरूमा गुणस्तर चिह्न त दिइएको छ तर कतिपय आयोजनाहरूमा, मैले सुनेको तामाकोसीमा भारतीय सिमेन्टहरू प्रयोग भएको छ । त्यो गुणस्तरको हिसाबले हो या व्यापारिक रूपले हो । तर अब हामी जुन पूर्वाधार निर्माणको छलाङ मार्न र गिटी, बालुवामा गुणस्तर आउन नीतिगत कुरा खुकुलो हुनुपर्छ ।

बाटो पिच गर्ने कुरामा इन्जिनियर, ठेकेदारको सुपभिजन हुँदाहँुदै पनि निर्माण सामग्री नै कमसल भयो भने त्यो बलियो हुँदैन । त्यसै गरी ठूला संरचनाहरूमा खास गरी छड, सिमेन्टहरूको सुनिश्चितता हुनुप¥यो । नयाँ सिमेन्ट फ्याक्ट्री खुल्यो भने उद्योग विभाग, गुणस्तर विभागबाट अनुगमन त भएकोे होला तर नागरिक तहमा यो सिमेन्ट अथवा रडको यो क्वालिटी छ भन्ने सुनिश्चितता हुनुपर्छ ।

नेपाली निर्माण सामग्रीको विश्वसनीयता

केही वर्षपहिले यहाँका प्रतिष्ठित उद्योगहरूले रिसाइकल गरेको किटबाट रडहरू बनाउँछन् भन्ने अखबारहरूमा आयो । सामान्य घरहरू बनाउँदा त्यो त्यति संवेदनशील हुँदैन । त्यो भनेको त्यति संवेदनशील छैन भने गुणस्तरको लागि हिसाब गर्दा त्यसलाई ठूलो फ्याक्टर अफ सेफ्टीको रेञ्ज राखेका हुन्छौँ । तर कहीँ हामीले डिजाइन गर्दा नै फ्याक्टर अफ सेफ्टी कम छ भने त्यहाँ गुणस्तर एकदमै महत्वपूर्ण हुन्छ ।

नेपालका उत्पादकहरूको मलाई जानकारी आएसम्म छड र फलाम उद्योगको म्यानुफ्याक्चरिङ प्रोसेसमै कतिपय हामी बङ्गलादेशबाट आयात गर्छौं । त्यो रोलिङमै जापानिज कम्पनीहरूले यहीँ बन्ने ग्यारेन्टी दिएका हुन्छन् । तर नेपाली कम्पनी भन्नेबित्तिकै यस्तो मनोबिज्ञान भयो कि त्यहाँ विश्वसनीयताको कुरा उठ्छ । त्यो मनोविज्ञान र अर्को साँच्चिकै गुणस्तर त्यो दुईवटालाई नै सम्बोधन गर्ने कुरा पारदर्शीरूपमा सरकारले नियमन गरेर नेपाल गुणस्तर मापदण्ड दिने, नियमित नियमन गर्ने गर्नुपर्छ । त्यो विश्वसनीयता समग्र सरकारी संयन्त्रको विश्वसनीयतामा भर पर्छ ।

हामीले पूर्वाधार विकासका लागि छलाङ मार्ने, ठूलो लगानी लगाउने भनिरहेका छौं, यो अवसर पनि हो । हामी व्याकवार्ड फरवार्ड लिङ्केज भन्छौँ । पूर्वाधार विकाससंगै निर्माण सामग्री उद्योग पनि फस्टाउँछ । त्यसले पनि रोजगारी सिर्जना गरेर जीडीपी बढाउने, आर्थिक उद्देलित गर्ने काम गर्छ । सरकारले ठूला–ठूला पूर्वाधार आयोजना निर्माणमा हाम्रै निर्माण सामग्रीहरू प्रयोग गर्न सक्नुपर्छ । साथै, हाम्रा निर्माण सामग्रीका औद्योगिक उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्डका छन्, यसका लागि ग्यारेन्टेड, गुणस्तर मापदण्ड र विश्वसनीय छन् भन्ने वातावरण सिर्जना हुनुपर्छ । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री