शनिबार, २२ वैशाख २०८१

पूर्वी नेपालमा बाढी : तीस आयोजनामा आठ अर्ब बढीको क्षति

समयपोष्ट २०८० असार ८ गते २०:४७

Advertisement

पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादनमा रहेका एक सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा करिब रु छ अर्बको क्षति भएको छ ।

विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ मा रु ५० करोड बराबरको क्षति भएको छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा रु एक अर्ब बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिनुभयो ।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको चार दशमलव सात मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा रु ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार उक्त आयोजनामा हेडवक्र्स, पाइप अलाइनमेन्ट, पावरहाउसलगायतका भौतिक संरचना पूर्णरूपमा क्षति भएर आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।

त्यस्तै १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनामा रु ९५ करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो । बाढीका कारण पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत् आयोजनामा रु दुई अर्बभन्दा बढीको क्षति भएको छ । निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत् आयोजनामा रु ८० करोड बराबरको भएको छ ।

उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चार जनाको मात्र शव भेटिएको छ । कुल ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्याउँदा आयोजनाको पुनःनिर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो ।

यस्तै इसुवाखोला जलविद्युत् आयोजनामा रु ५० करोड बराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले जानकारी दिनुभयो । इङ्गुवा खोलामा पनि रु ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिनुभयो ।

इप्पानले बाढीले प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री