
बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहर सङ्कलन गर्न थालेको छ । नगरमा सङ्कलन भएको फोहरबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन् । कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा छुट्टाछुट्टै गाडी पठाउने गरेको उहाँले जानकारी दिनुभयो । “कुहिने फोहर सङ्कलन गरेर दुई वटा गाडीमार्फत कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहारमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य सुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।
बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना भएको उक्त कम्पनीले नगरबाट आउने कुहिने फोहरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ । “वर्गीकरण नगरिएको फोहर परियोजनाले लिदैन । हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहरमैलालाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरिदिनु अनुरोध गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “विज्ञहरुको सुझाव अनुसार नै फोहर वर्गिकरण गरेर सङ्कलन गर्नुका साथै जागरण अभियान पनि सँगसँगै चलाइरहेका छौँ ।”
वर्गीकरण नगरिएको फोहर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरवासी आफैले कुहिने र नकुहिने फोहरलाई अलग–अलग भाँडोमा राखेर बुझाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कनकाई नगरपालिका–२ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ ।
बायोग्यास उत्पादनका लागि विश्व बैंकले रू पाँच करोड ४६ लाख अनुदान दिएको कम्पनीले जनाएको छ । बायोग्यासको उत्पादनका लागि रू २२ करोड लगानी भएकामा ६० प्रतिशत लगानी तीन पालिकाले व्यहोरिरहेका छन् । बिर्तामोड नगरपालिकाबाट दैनिक न्यूनतम् छ ट्याक्टर फोहरमैला निस्कने गरेको छ ।
कुहिने फोहरबाट बायोग्यासका साथै जैविक मलसमेत उत्पादन गरिने कम्पनीले जनाएको छ । नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर ‘पेभर्स’नामक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीले योजना बनाएको छ । कम्पनीमा चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने छ ।
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट व्यावसायिक रुपमा ग्यास उत्पादन सुरु गर्न नगरपालिकाबाट वर्गीकरण भएको फोहर सङ्कलन आवश्यक रहेको बताउनुभयो । उहाँले स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्न नगरवासीलाई अपिल समेत गर्नुभयो ।










प्रतिक्रिया