निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

Advertisement

उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ । स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गरिने भएको छ ।

कारबाहीमा पार्टी सदस्यबाट हटाउनेदेखि लिएर नसिहतसम्मको कारबाही तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताउनुभयो । गएको मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले गएको फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले करिब डेढ महिना लगाएर ४८ जना केन्द्रीय सदस्यसहित एक सय ५२ जनासँग बयान लिइएको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला जिल्लाबाट आएको उजुरीका आधारमा पार्टीका ती नेताहरुसँग बयान लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री