पहिले फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक
‘माग्ने बूढा’ भन्नेबित्तिकै माकल टोपी, थोते दाँत र झुक्रेझाम्रे आकृति आँखामा नाच्न थाल्छ । यो त भयो ‘मेरी बास्सै’को एक प्रमुख पात्र । यही ‘पात्र’ केदार घिमिरेमा ‘कन्भर्ट’ गर्ने हो अहिले हाम्रो अघिल्तिर ‘चेन होटल’का मालिक कुरा गरिरहेका छन् ।
२०५० सालमा मकवानपुर ठिंगनबाट काठमाडौं छिरेका ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेको सपना वकिल बन्न थियो । तर, कलाकार हुँदै अहिले उनी ‘ए वान होटल’ समूहका मालिकमध्ये एक बनेका छन् ।
कुनै ताका काठमाडौंमा फुटपाथ गरेका केदारले २१ वटा चेन क्याफे, पार्टी भेन्यु (ब्यांक्वेट) र होटलसहितको ‘ए वान क्याफे एन्ड पार्टी भेन्यु’ तथा ‘ए वान होटल’ समूहअन्तर्गत करोडौंको लगानीका ‘मालिक बनिएला’ भन्ने सायदै सोचेका थिए । अभिनयबाट फुर्सद हुँदा केदार होटल व्यवसायमै व्यस्त हुन्छन् ।
यसरी सुरु भयो संघर्ष
कानुन पढ्न काठमाडौं छिरेका उनले नेपाल ल क्याम्पसमा भर्ना हुन भने पाएनन् । ताहचल वारिपट्टीको काठमाडौं बहुमुखी क्याम्पसमा आईएल भर्ना हुन पुगेका केदार काठमाडौं आउने क्रममा गाउँको घरमा आलगानी भयो । सारा सम्पत्ति आगोसँगै नष्ट भयो । त्यसपछि सुरु हुन्छ, काठमाडौंमा संघर्षका दिनहरू ।
काठमाडौंमा दाइसँग बसेका केदार सुरुमा चाइनिज कन्ट्रक्सन कम्पनीमा ‘लेबर’ थिए । मेसिनबाट अलकत्रा (बिटुमिन) पोल्ने रात्रिकालीन काम पाएका थिए, उनले । ‘लेबरको केही कमाइबाट ऐना, काइँयो, क्रिम, जुत्ताको पलिस, ब्रस, नेलकटर, रुमाल, लिपिस्टिक, पर्स, मोजालगायत किन्थें,’ संघर्षका पल सम्झिन थाल्छन्, केदार, ‘विभिन्न कस्मेटिक सामग्री बेच्ने फुटपाथको पसल ललितपुर लगनखेल चोकमा सुरु गरें । रातभर काम गरेर बिहानै कलेज जान्थें र बिहान ९ः३० मा क्लास छुटेपछि महाबौद्धको होलसेलबाट साइकलमा सामान बोकेर लगानखेल पुग्थें ।’
उनको अनुपस्थितिमा बिहान १० बजेसम्म दाइ फुटपाथ पसल सम्हाल्थे । केदार थप सामान लिएर आएपछि उनका दाइ घरमा रङ लगाउने काम गर्न जान्थे । दिनभर फुटपाथ व्यापारमा रम्थे उनी । कोठामा नुहाउन र लुगा फेर्न मात्रै पुग्थे ।
‘साँझ पाँच बजेतिर फुटपाथ पसल बन्द गरेपछि १ घण्टा अंग्रेजी भाषाको कोचिङ लिन्थें, त्यसपछि दुई/तीन घण्टासम्म ट्युसन पढाउन जान्थें,’ केदार सुनाउँछन्, ‘ट्युसन सकेपछि खाना खाएर फेरि रात्रिकालीन जागिर सुरु हुन्थ्यो । २४ घण्टे ड्युटी ६/७ महिनासम्मै चल्यो ।’ राजधानी दैनिकमा यो समाचार छ ।
प्रतिक्रिया