शुक्रबार, १६ चैत २०८०

कसरी गर्ने कोरोनाको चेनब्रेक ?

समयपोष्ट २०७८ जेठ २८ गते १५:१४

Advertisement

कोरोनाको सक्रिय सङ्क्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । सङक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका बिरामी थपिने दर केही कम पनि भएको छ । तर गाउँ गाउँमा पुगेको कोरोनाको चेनब्रेक कसरी संभव होला ? यो अहिलेको बढी चासोको विषय बनेको छ ।

सक्रिय सङ्क्रमित घटाउनका लागि परिक्षण नै घटाएको टिप्पणी समेत भैरहेको छ । परीक्षण घटाएरभन्दा छिटो धेरै सङ्क्रमित पहिचान गरेर उनीहरुलाई उपचारमा लैजाने, सुरक्षित आइसोलेसनमा राख्ने जस्ता काम गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि स्थानीय तहबाटै सक्रियता हुन जरुरी छ । किनकी स्थानीय तहले हरेक वडा र टोलसम्मको अवस्था बुझेको हुन्छ । कोभिड नियन्त्रण अभियानमा स्थानीय तहनै प्रभावकारी संयन्त्र समेत हुन् ।
कोरोना नियन्त्रण अभियानमा केही पालिकाले अगुवाई समेत गरिसकेका छन् ।

बागलुङ नगरपालिकाको वडा नं. ४ मा सङ्क्रमित बढेर सिल गरिएकै बेला वडा नं. ११ भने सङ्क्रमण मुक्त भएको छ । वडा नं. ११ को रायडाँडामा कडा निगरानी, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना र नियमित उपचार सेवामा स्वास्थ्यकर्मी खटिंदा यो सफलता मिलेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । रायडाँडामा एकैपटक १२ जना सम्ममा कोरोना देखिएको थियो । अघिल्लो वर्ष २ जना मात्रै सङ्क्रमित देखिएको यहाँ यो वर्ष भने एकैपटक सङ्क्रमण बढ्ने खतरा थियो ।

सङ्क्रमणविरुद्ध स्वास्थ्य चौकीप्रमुख केयरसिंह थापासहित अध्यक्ष गौतमले निरन्तर घरदैलो गरेर स्वास्थ्य मापदण्ड पालनामा पहल गर्दा सफलता मिलेको थियो । यो अभ्यास अन्यत्र पनि गर्नुपर्ने सरोकारवालाले बताए । सबैभन्दा धेरै सङ्क्रमित देखिएको बलेवा क्षेत्रमा पनि होम आइसोलेसनलाई कडाइ गरेर घरमै बस्ने व्यवस्था मिलाएपछि सङ्क्रमण मुक्त गर्न सकिने बानपा–१२ अमलाचौरकी अनमी कल्पना घिमिरेले बताउनुभयो ।

बागलुङको ताराखोला पनि शुन्य सङ्क्रमित बनाउने अभियानमा छ । स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार गाउँपालिकाको संस्थागत आइसोलेसनमा तीन जना मात्रै छन् । उनीहरु डिस्चार्ज हुने क्रममा छन् । सबैजना निको भैसकेकोले शुन्य सङ्क्रमणमा पुगिसकेको थापाले बताउनुभयो । गाउँपालिकाले तीन सातासम्म गरेको कठोर परिश्रमको सफलताले यो उपलब्धी पाएको उहाँको भनाई छ ।

सक्रिय सङ्क्रमितलाई घरमा बस्न नदिई संस्थागत आइसोलेसनमा राख्ने, घरमा बसेकाले अनिवार्य मापदण्ड पालना गर्नेमा कडाइ गरिएको थापाको भनाई छ । आइसोलेसनमा पनि दैनिक उपचार सेवा दिएर सुरक्षित बनाएको उहाँको अनुभव छ । कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक रुपमा बढाएकोले सफलता पाउन सकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती बताउनुहुन्छ । “चेनब्रेकका लागि घर घरमै बस्ने, स्वास्थ्यका मापदण्ड पालना गर्ने र बिरामी भएमा तत्काल उपचारमा जाने हो”, थापाले भन्नुभयो, “परीक्षणलाई व्यापक बनाउनु पर्छ ।” परीक्षण बिनै सङ्क्रमित छैनन् भन्ने हो भने सफलता नमिल्ने उहाँले बताउनुभयो ।

यो अभियान सफल बनाउन गाउँपालिकाका सबै जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सरह निरन्तर खटिएका थिए । गाउँपालिका अध्यक्ष घर्तीले सबैको साझा प्रयासबाट सफलता मिलेको बताउनुभयो । “अहिले पनि हरेक प्रवेशद्वारमा कडाइ गरेकोले सङ्क्रमण मुक्त हुनेछौं”, घर्तीले भन्नुभयो । यहाँ एक महिनामा १ सय ५० बढी कोरोनाका सङ्क्रमितको उपचारबाट निको भएका हुन् । राष्ट्रिय रुपमा व्यवस्थापन नभएपनि ताराखोलाले भने संस्थागत संरचनामा क्वारेन्टिन बनाएर शङ्कास्पदलाई राख्दा छिटो चेनब्रेक भएको घर्ती बताउनुहुन्छ ।

क्वारेन्टिन र आइसोलेसन बसेकालाई स्थानीय आमा समूहले दैनिक अर्गानिक खाना खुवाएको स्थानीय भवीकला रोकाले बताउनुभयो । जौको सातु, सागपात र ग्रामीण क्षेत्रमा उत्पादित अन्य खाद्यान्न सङ्क्रमितलाई दिएकोले सहज भएको रोकाको अनुभव छ । सङ्क्रमणको पहिलो चरणमा यहाँकी एक जनप्रतिनिधिको मृत्यु भएको थियो । घरमै रोग च्याप्दा सिकिस्त बनेकी वडा नं. ३ की सदस्य तेजुमाया भण्डारीको धौलागिरि अस्पताल लगेको तेस्रो दिन निधन भएपछि तर्सेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटिएर गाउँपालिकालाई शुन्य बनाउन सकेको बताउनुभयो ।
स्वास्थ्य कार्यालयले जिल्लाभरी पहिलो चरणमा ४ हजार ५ सय सहित ७ हजार बढी एन्टिजेन्ट परीक्षण गरेको छ । यसरी परीक्षण गर्दा संक्रमित तत्कालै पत्ता लागेर आइसोलेसनमा राख्न सफलता मिलेको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री