शुक्रबार, १६ चैत २०८०

उपत्यकामा सीजीको इन्टरनेट सेवा शुरु, ९९९ रुपैयाँमा १२० एमबीपीएस ‘सीजी नेट’

समयपोष्ट २०७८ जेठ १८ गते १३:०९

Advertisement

सीजी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवा भन्दा आधा सस्तो मूल्यमा उच्च गतिको ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) ‘सीजी नेट’ले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउने बताएको छ । कम्पनीले निकट भविष्यमै आईपी टीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने बताएको छ ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रमहोम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्वबजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको हो ।

सीजी नेटको सेवा शुरुवातमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुने कम्पनीले बताएको छ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवाको फाइदा उठाउन सक्ने पनि सीजीले जनाएको छ ।

१२ महिना भित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । कम्पनीले नेटवर्क विस्तार सम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध गराएको छ ।

ग्राहक सेवा केन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखाहरु जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने पनि कम्पनीले जनाएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गर्ने त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले बताएको छ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धताअनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । “दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री