शुक्रबार, १६ चैत २०८०

शेयर बजार सोमबारदेखि पुनः शुरु

समयपोष्ट २०७७ असार १५ गते ८:०९

Advertisement

धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोवार गर्नुपर्नेछ ।

यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ । यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् । लगानीकर्ताले हालसम्म गरिएका व्यवस्थाबमोजिम नै घरैबाट कारोवार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

लकडाउनकैबीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनःबन्द गरिएको थियो । बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आज दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री