मंगलबार, ६ चैत २०८०

माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङमा पाइप जडान, प्रसारण लाइन निर्माण र सवस्टेशनको काम अन्तिम चरणमा

समयपोष्ट २०७७ असार १३ गते १८:४१

Advertisement

रमेश लम्साल
सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ । कूल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न भएको हो ।

उहाँले भन्नुभयो “ करिब करिब दुई वटा ठाडो सुरुङमा पाइज जडानको काम पूरा भएको छ । केही काम आज राती गरेर भोलि आइतबार पूरा हुनेछ । ” कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान यसअघि नै सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लागेको थियो ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सकिएको छ ।

प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ । “सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्ेका छन् । सो काम आगामी बिहिबारसम्म सकिन्छ । हामी एउटा सकारात्मक अवस्थामा पुगेका छाँै । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो ।

माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । सो कार्यका लागि थप एक महिना समय लाग्नेछ । तेर्सो स्थानमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातका लागि समस्या भएको छ । “ निर्माण व्यवसायीले ती सामान ल्याउन पहल गरेको छ, कहिले आइपुग्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन ” उहाँले भन्नुभयो “ हामीले सकेसम्म ती पाइप ल्याउन निरन्तर आग्रह गरिरहेका छौ ।” चालू आव सकिन अझै १७ दिन बाँकी भएकाले आयोजनाको अन्य काममा भने थप प्रगति हासिल हुने विश्वास लिइएको छ ।

आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब रु पाँच करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो ।

हाल सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरिदिनुभएको थियो । थप पाइप आयातका लागि समेत मन्त्रालयले विशेष पहल गरिरहेको छ । मन्त्री पुनकै पहलमा आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आयात गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६५० श्रमिक कार्यरत थिए ।

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।

सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव छ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ । कूल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री