शुक्रबार, १४ वैशाख २०८१

ठेकेदार कम्पनीको लापरवाहीका कारण व्यापारिक मार्गको काम समयमा सम्पन्न हुँन मुश्किल, ४ बर्षमा जम्मा ६५ प्रतिसत काम

rss २०७७ असार ३ गते ९:१५

Advertisement

बारा जिल्लाको पथलैया, परवानीपुर, गण्डक, बहुअरीचोक, ड्राइपोर्ट हुँदै आइसिपीसम्म निर्माण भइरहेको व्यापारिक मार्गको हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न हुनसकेको छ । सङ्घीय सरकारको रु पाँच अर्ब ५० करोडको लागतमा विस्तार भइरहेको छ लेनको सो व्यापारिक मार्गको लम्बाइ ३२ किलोमिटर छ ।

व्यापारिक मार्ग विस्तारअन्तर्गत जितपुर क्षेत्रमा काम गर्न ठेक्का लिएको शर्मा युनाइटेड कम्पनीले सो क्षेत्रको काममा ढिलासुस्ती तथा आलटाल गर्ने गरेकाले काम अगाडि बढ्न नसकेको व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज पथलैयाका योजना प्रमुख सञ्जयकुमार मिश्रले राससलाई बताउनुभयो ।

योजना प्रमुख मिश्रले काम गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरवाही, लामो समयदेखि लकडाउन लागू हुनु, सडक निर्माणमा काम गर्ने कामदार भारतीय भएकाले कोरोना सङ्क्रमणका कारण ती कामदार आ–आफनो घर भारततर्फ जानुजस्ता कारणले सो सडक विस्तारको काम प्रभावित भएको बताउनुभयो ।

आगामी २०७७ पुस मसान्तसम्म काम पूरा गरिसक्नुपर्ने भनेर सम्झौता गरिए पनि ठेकेदार कम्पनीको कामप्रतिको उदासीनताका कारण तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिन्छ । सङ्घीय सरकारले बन्दाबन्दीमा पनि विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्ने नीति अघि सारेपछि रोकिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्गको काम शुरु गरिएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने सिमरादेखि पथलैयासम्मको सडक खण्डमा कालोपत्र गरिएको छ ।

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहदेखि परवानीपुर हुँदै पथलैयासम्मको सडक विस्तारको ठेक्का विसं २०७३ असारमा लगाइएको थियो । सम्झौताअनुसार २०७५ असारमा काम सकिनुुपर्नेमा पछिल्लोपटक म्याद थपेर आउँदो पुससम्म लम्ब्याइएको भए पनि बन्दाबन्दीका कारण सो काम पूरा नहुने विश्वास व्यक्त गरिएको छ । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर ठेक्काको म्याद थपिँदा ६५ प्रतिशतसम्म प्रगति देखिएको भए पनि सो काम समयभित्र सम्पन्न हुनेमा शङ्का रहेको प्रमुख मिश्रले बताउनुभएको छ ।

सो सडक निर्माण गर्दा शुरुमा दुई वर्ष स्थानीय अवरोध र पेट्रोलियम पाइपलाइन विस्तारका कारण मुख्य सडकखण्डको विस्तार नहुँदा अवरुद्ध भएको आयोजनाले जनाएको छ । जितपुर, सिमरा र परवानीपुरका स्थानीय बासिन्दाले अवरोध गरेकाले ती वर्षमा २० प्रतिशत मात्र काम भएको मिश्रको भनाइ छ । त्यसपछिको एक वर्षमा ३० प्रतिशत प्रगति गरेको आयोजनाले चालू आर्थिक वर्षमा ३० प्रतिशत र बाँकी रहेको काम आउँदो पुस मसान्तभित्र पूरा गर्ने लक्ष्य रहेको छ ।

वीरगञ्जको आइसिपीदेखि बाराको पथलैयासम्मको ३२ किलोमिटर लामो सडकलाई छ खण्डमा बाँडेर बेग्लाबेग्लै ठेक्का निर्माण कम्पनीलाई दिइएको छ । छ ठेक्का कम्पनीमध्ये पप्पु कन्स्ट्रक्शन र शर्मा युनाइटेड बिल्डर्सको ठेक्का सबैभन्दा कमजोर देखिएको आयोजना कार्यालयले बताएको छ । पप्पुले जिम्मा लिएको पर्साको हरपतगञ्जदेखि सुक्खा बन्दरगाहसम्मको सडकको प्रगति ४५ प्रतिशत रहेको मिश्रले जानकारी दिनुभयो । जबकि आयोजनाको औसत भौतिक प्रगति ६५ प्रतिशत पुगिसकेको छ । तेस्रो मुलुकबाट आउने सामान कोलकाता तथा विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट आइसिपीमा आउने र त्यहाँबाट कन्टेनरमार्फत मुलुकका विभिन्न ठाउँमा जाने गरेकाले सो सडकलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री